सामुदायिक विकास तथा सहभागिता योजना प्रदर्शनी मेला

रोशन गुप्ता 

जीतपुर, ४ असार

विकास निर्माण कार्यमा समुदायको सक्रिय सहभागितालाई केन्द्रित गर्दै बाराको सिमरामा सामुदायिक योजना प्रदर्शनी मेला सम्पन्न भएको छ । आवासका लागि सहयोग समूर्ह लुमन्ती’ आयोजना तथा जितपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा उपमहानगरपालिकाका चार वटा वडाबाट योजना र प्रतिबद्धतामा हस्ताक्षर गरिएको थियो ।

लुमन्ती वार्डमा पुगेपछि समुदायका लागि आवश्यक १० वटा योजनाहरू सूचीबद्ध गरियो, प्रत्येकको नाम विशेष रूपमा राखियो । नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी र चारवटै वडाका वडाध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । यी प्रतिनिधिहरूले सम्भाव्य योजनाहरू पूरा गर्न र शहर र वडा स्तरमा थप व्यापक परियोजनाहरू छलफल गर्न प्रतिबद्धता व्यक्त गरे । प्रमुख अतिथि नगरप्रमुख पौडेलले सबै सामुदायिक योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेला आयोजना गर्न र विभिन्न सरोकारवाला सँग सहकार्य गरेकोमा लुमन्तीको प्रशंसा गरे ।

जीतपुरसिमरा उपमहानगरपालिकावडा नं ९, ११, १९ र २० मा आर्थिक रुपले विपन्न परिवारका लागि उपमहानगरपालिकाको सहयोगमा १४० घर निर्माण गर्ने योजना लुम्बिनी संस्थाले बनाएको छ । समुदायसँगको सहकार्यमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उपमहानगरपालिकाले प्रतिघर रु ५० हजार र लुमन्ती संस्थाले प्रतिघर रु दुई लाख २० हजार उपलब्ध गराउने लुमन्ती संस्थाका अभिलेख तथा सूचना शाखा प्रमुख अनन्त बज्राचार्यले जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, वडा नं ९ का वडाध्यक्ष मोतीलाल यादव, वडा नं ११ का वडाध्यक्ष विन्दलाल साह, वडा नं १९ का वडाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, वडा नं २० का वडाध्यक्ष रसुल मियाँलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रविकान्त तिबारीले गरेका थिए भने संयोजक अब्दुल कायेसले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *