मुख्यमन्त्री रहेकै बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उपलब्ध गराइएको ज १ झ ४७० नम्बरको सरकारी स्कार्पियो अहिलेसम्म फिर्ता नगरी उनले सो गाडीमा ज १ च ४७० नम्बरको निजी प्लेट जडान गरी प्रयोग गरिरहेको देखिएको हो।
गत शनिबार सिंह सोही निजी नम्बर प्लेट राखिएको स्कार्पियो चढेर राजनीतिक भेटघाटका लागि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ पाठशाला पुगेपछि यो विषय सतहमा आएको हो। सरकारी गाडीको नम्बर परिवर्तन गरी निजी नम्बर राखेर प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ।
यस विषयमा प्रतिक्रिया दिँदै पूर्वमुख्यमन्त्री सिंहले आफू सो गाडी प्रयोग गरिरहेको स्वीकार गरेका छन्। जेनजी आन्दोलनका बेला सुरक्षाको जोखिमका कारण अस्थायी रूपमा सरकारी नम्बरमा निजी नम्बर लेख्न लगाउँदा पेन्टरको लापरवाहीले ‘झ’ को सट्टा ‘च’ लेखिन गएको उनको भनाइ छ। ‘सुरक्षाका दृष्टिले रातो प्लेट बनाइएको थियो, पेन्टरको गल्तीले यस्तो भयो। अब सेतो नम्बर प्लेट लगाएर सच्याउँछु,’ उनले बताए।
दुई महिना बितिसक्दा पनि सरकारी गाडी फिर्ता नगरेको प्रश्नमा सिंहले पूर्वमुख्यमन्त्रीलाई सरकारी गाडी दिने सुविधा कार्यविधिमा नै रहेको दाबी गर्दै सबैले राखेकाले आफूले पनि राखेको बताएका छन्। ‘सबैले फिर्ता गरेपछि म पनि गरिदिन्छु,’ उनले भने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्टोर शाखाका कम्प्युटर अधिकृत रामअशिष रायका अनुसार ज १ झ ४७० नम्बरको सरकारी स्कार्पियो हाल पनि पूर्वमुख्यमन्त्री सिंहकै जिम्मामा छ। ‘गाडी फिर्ता गर्न मौखिक रूपमा जानकारी गराइसकेका छौं, तर अझै कार्यालयमा आएको छैन,’ उनले भने, ‘१–२ दिनभित्र पत्राचार गर्ने तयारी छ।’
यातायात व्यवस्था कार्यालय जनकपुरका अनुसार ज १ च ४७० नम्बर पिकअप गाडीको नाममा दर्ता रहेको पाइएको छ। उक्त पिकअप गाडी १५ साउन २०७० मा पूर्वमुख्यमन्त्री सिंहकै दाजु सुरजकुमार सिंहको नाममा नामसारी भएको थियो, तर २०७१ सालपछि नवीकरण नगरिएको देखिन्छ। दाजु सुरजकुमार सिंहले उक्त नम्बर आफ्नो पिकअप गाडीको भएको स्वीकार गरे पनि स्कार्पियोमा प्रयोग गरिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।
यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख धनञ्जय सिंहले फरक सवारीको नम्बर प्लेट प्रयोग गर्नु गैरकानुनी भएको स्पष्ट पारे। ‘यसरी नम्बर प्लेट फेरेर सवारी चलाउन पाइँदैन।