अविरल वर्षाले देशभर सडक संकट, बीपी राजमार्गदेखि अरनिको राजमार्गसम्म आवागमन ठप्प

SLF KHABAR
अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ।

नेपाल प्रहरीले आज बिहान ८:४० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द भएका र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।

इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे बनेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि यातायात ठप्प भएको छ।

दोलखाको किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक सामाकोशी खोलाले कटान गरेपछि बन्द भएको छ भने रसुवाको खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक बगाएपछि पासाङ ल्हामु राजमार्ग पनि अवरुद्ध भएको छ।

यस्तै, ललितपुरको कान्तिलोकपथ, रोल्पाको घोराही–थवाङ शहीद राजमार्ग तथा लमजुङको बेँसीसहर–च्यामे–मनाङ सडक खण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम अझै उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न र अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *