लगातार वर्षापछि जितपुरसिमरामा डुबानको खतरा! नगरप्रहरी र जेसीबी मैदानमा

SLF KHABAR
लगातारको वर्षासँगै सम्भावित डुबानको जोखिम बढ्न थालेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ।

उपमहानगरपालिकाले वडा नम्बर १३ अन्तर्गत पोता क्षेत्रमा जाम भएका नालाको सरसफाइ तथा पानी निकासको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको हो।

पछिल्ला दुई दिनदेखि भइरहेको वर्षाका कारण पानी जम्ने र बस्ती डुबानमा पर्ने सम्भावना बढेपछि नगरप्रहरीको टोली परिचालन गरिएको छ। टोलीले जाम भएका नाला सफा गर्नुका साथै जेसीबीको प्रयोग गरेर पानीको सहज निकासको व्यवस्था गरिरहेको छ। यसबाट वर्षाको पानी छिटो निकास भई स्थानीय बस्तीलाई डुबानबाट जोगाउने लक्ष्य राखिएको नगरप्रहरीले जनाएको छ।

उपमहानगरले वर्षायाम सुरु भएदेखि नै विभिन्न स्थानमा जाम भएका नाला खुलाउने, फोहोर हटाउने र पानीको बहाव सहज बनाउने अभियान सञ्चालन गर्दै आएको जनाएको छ। जोखिमयुक्त क्षेत्रको नियमित अनुगमनसमेत भइरहेको छ।

वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरीले स्थानीयवासीलाई वर्षाका कारण कुनै असुविधा नहोस् भन्ने उद्देश्यले नगरप्रहरीसँग समन्वय गरी तत्काल नाला सरसफाइ तथा पानी निकासको काम अघि बढाइएको जानकारी दिनुभयो।

उहाँले आवश्यकताअनुसार अन्य जोखिमयुक्त स्थानमा पनि यस्तै अभियान सञ्चालन गरिने बताउँदै स्थानीयवासीलाई नालामा फोहोर नफाल्न र डुबानको जोखिम देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ।

 

मौसमविद्हरूले अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरिरहेका बेला उपमहानगरले सम्भावित विपद् न्यूनीकरणका लागि पूर्वतयारीलाई प्रभावकारी बनाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *