रोशन गुप्ता
बारा, ५ असोज
बाराको सिमरामा अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आइतबारदेखि शुरु हुने भएको छ । सिमरा भेट्रान क्लबले आयोजना गरेको प्रतियोगिता असोज ७ देखि १३ गते सम्म सञ्चालन हुनेछ ।
सिमरा रङ्गशालामा हुने प्रतियोगिताको अन्तिम तयारी भइरहेको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष राजकपुर राउतले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी निष्कर्षमा पुगेको जानकारी दिए । उहाँले स्थानीय समुदायको बलियो साथ र सहयोगका साथ प्रतियोगिता आयोजना गर्न पाएकोमा आफूहरु उत्साहित रहेको बताउनुभयो ।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा भारतको दार्जिलिङ टाउन भेट्रान, क्लिभ हाउ भेट्रान क्लब कलकत्ता, बंगलादेशको भेट्रान एफसी, नेपालको चाबहिल भेट्रान, अभिषेक चर्च नवलपरासी, चितवन भेट्रान, वीरगञ्ज युथ एकेडेमी, युनिटी भेट्रान पर्सा, फ्रिडम फाइटर क्लब काठमाडौं, नव जनजागृति युथ क्लब भेट्रान, इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा र आयोजक क्लब रहने छ ।
कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गर्नेछन । प्रतियोगिताको उद्घाटन खेलमा नवलपरासीका अभिषेक चर्चले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन ।
प्रतियोगिताको सफलता सुनिश्चित गर्न जगदम्बा स्टिल्स प्रा.लिको मुख्य प्रायोजनमा हुने छ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका कार्यालय र २४ वटै वडा कार्यालय, हुलास स्टिल, सूर्य नेपाल, नारायणी रोलिङ मिल, नबिल बैंक, युआर गोल्ड प्रिमियम स्पाइस टी, अशोक स्टिल, अल्पाइन अस्पताल, एभरग्रीन तराई सिमरा अस्पताल, एलएस न्यूरो अस्पताल वीरगञ्ज, बारा जिल्ला फुटबल संघ, नव जनजागृति युवा क्लब, सुसाप्ता मेडिकल युआर अटोमेटिक लन्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंक लगायतका संस्थाहरुले उदारतापूर्वक सहयोग गरेका छन । प्रतियोगिताको सफल आयोजनाका लागि करिब रु २४ लाख ३९ हजार खर्च हुने अनुमान गरिएको अध्यक्ष राउतले जानकारी दिए ।

