रोशन गुप्ता
बारा, ५ असोज
बाराको परवानीपुर कृषि अनुसन्धान निर्देशनालयको सभाहल पानसमा दीप प्रज्ज्वलन गरी राष्ट्रमार्ग साप्ताहिक पत्रिकाको ११ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्रले सरकार र समाज दुवैका लागि पत्रकारको भूमिकालाई बुझ्नुपर्नेमा जोड दिए । राष्ट्रमार्ग साप्ताहिकले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
मिश्रले समाचार सम्प्रेषण मार्फत समाजलाई आकार दिन अथक प्रयास गर्ने पत्रकारको अमूल्य योगदानको कदर र सम्मान गर्नुपर्नेमा जोड दिए । परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयको सभाहलमा आयोजित वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा उनले यस्तो धारणा व्यक्त गरेका हुन ।
कार्यक्रममा मधेश प्रदेशका श्रम तथा रोजगार मन्त्री चन्दनकुमार सिंह, मधेसी आयोगकी सदस्य रेणु साह, व्यवसायी इच्छाबहादुर वाग्ले, मगर सङ्घ बाराका अध्यक्ष यामकुमार जर्घा मगर, ईप्रका सिमरा प्रमुख प्रदीपबहादुर क्षेत्री , डा रवीन्द्रकुमार सिंहले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रेस सेन्टर बाराका अध्यक्ष रञ्जन यादवले पत्रकारले भोग्नुपरेका चुनौती र समाजमा घट्दो कदरका बारेमा प्रकाश पारेका थिए । प्रकाशक रामबिनय साहको अध्यक्षता तथा बुद्धिप्रसाद पाण्डेको स्वागतमा सम्पन्न कार्यक्रममा पत्रकार लालबाबु कुश्वाहाले सम्मान प्राप्त गरेका थिए ।

