चौधरीले आफ्नो परिवारसँगै ५ र ६ जनालाई रोजगारी दिएर इन्टरलक इँटा उत्पादन गर्न थाले । उपमहानगरले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले प्रदान गरेको एक हप्ते तालिमपछि यो अभियान शुरु गरिएको हो । पहिले अरुको हार्डवेयर पसलमा काम गर्दै आएका चौधरी अहिले तालिम पछि आफ्नो व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन ।
उपमहानगरका प्राविधिक र उपकरणको सहयोगमा उनले खर्च कटाएर मासिक रु ४० हजारदेखि रु ५० हजारसम्म बचत गर्ने गरेका छन । “मैले जहिले पनि सानो घरेलु उद्योग सुरु गर्ने सोच राखेको थिएँ, उपमहानगरपालिकाबाट पाएको तालिम निकै फाइदाजनक थियो,” चौधरीले भने ।
इन्टरलक इँटा र ब्लकहरू स्थानीय रूपमा बिक्री गरिन्छ । “सुरुमा इन्टरलक इँटाको बजार चुनौतीपूर्ण थियो, तर अहिले निकै राम्रो भएको छ” चौधरीले भने । घर बनाउन प्रयोग गरिने यी इँटाहरू अन्य इँटाहरूभन्दा ३० प्रतिशत सस्तो हुन्छन, प्लास्टर गर्नु पर्दैन, र वातावरणमैत्री हुन्छन, जाडो र गर्मी दुवैमा कोठाको तापक्रम सन्तुलित गर्छन ।
जीतपुर सिमरा उपमहानगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता दीपनारायण रायले चौधरीजस्ता व्यवसायको प्रचारप्रसार र बजार व्यवस्थापनमा उपमहानगरपालिकाले सहयोग गर्ने बताए । “हार्डवेयर पसलमा मोडलका सामान प्रदर्शन गरेर र प्राविधिकमार्फत इन्टरलक इँटाका फाइदाबारे प्रकाश पार्दै यी व्यवसायलाई बढावा दिन्छौं,” रायले भने ।
गत वर्षदेखि संघीय सरकारको सशर्त अनुदानमा सञ्चालित यो कार्यक्रमले नयाँ उद्यमी उत्पादन गर्ने र मौजुदा उद्यमीको स्तरोन्नती गर्ने लक्ष्य राखेको छ । उपमहानगरपालिकाका अनुसार गत वर्ष रु २१ लाख ६० हजार को बजेटबाट ६५ देखि ७० नयाँ उद्यमी भित्रिएका थिए ।
उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा सो कार्यक्रमका लागि रु २१ लाख र सङ्घीय सशर्त अनुदानबाट रु आठ लाख ६० हजार विनियोजन गरेको छ । गत वर्षको प्रशिक्षार्थीको क्षमता अभिवृद्धि गरी यस आर्थिक वर्षमा १५० नयाँ उद्यमी उत्पादन गर्ने लक्ष्य रहेको कार्यक्रम सहजकर्ता राईले बताए । उपमहानगरले विशेषगरी ग्रामीण क्षेत्रमा पशुपालन र कृषिसम्बन्धी तालीम प्रदान गर्दै आएको छ ।

