करिब १० वर्षअघि पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की अहिले जेनजी आन्दोलनकारीको सिफारिस र भर्चुअल मतदानको परिणामका आधारमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेकी हुन् ।
२००९ साल जेठ २५ गते मोरङको विराटनगरमा जन्मिएकी कार्की नेपाली कांग्रेस निकट परिवारमा हुर्किएकी हुन् । वकालतबाट न्यायाधीश हुँदै २०७३ सालमा प्रधानन्यायाधीश बनेकी उनको करिअर महत्त्वपूर्ण फैसला र विवाद दुबैसँग जोडिएको छ ।
उनले भ्रष्टाचारका मुद्दामा कडा आदेश दिँदै लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने प्रक्रियामा ऐतिहासिक भूमिका खेलेकी थिइन् । तर, कार्यकालमै संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले उनलाई केही समयका लागि निलम्बन पनि भोग्नुपरेको थियो ।
कार्कीले भारतको बनारस हिन्दु विश्वविद्यालय र नेपालकै त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् । वकालत, प्राध्यापनदेखि न्यायालयसम्मको यात्रामा उनले महिलाको लागि असामान्य मानिएको बाटो पार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी हुन् ।
७३ वर्षीया कार्की आन्दोलनका दिनहरूमा बानेश्वरस्थित प्रदर्शन स्थलमा पुगेकी थिइन् भने घाइतेहरूसँग अस्पतालमै भेट गरेकी थिइन् । अहिले उनी आन्दोलनकारीहरूको विश्वास जित्दै नेपालको अन्तरिम सरकारको नेतृत्वमा पुगेकी छन् ।

