भारतमा स्टारलिङ्क सेवा सुरु हुने तयारी, महाराष्ट्र पहिलो राज्य बन्ने

SLF KHABAR
विश्वप्रसिद्ध उद्यमी एलन मस्कको स्वामित्वमा सञ्चालित स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा प्रारम्भ हुन तयारी अवस्थामा पुगेको छ। महाराष्ट्र राज्यका मुख्यमन्त्रीले बुधबार स्टारलिङ्क सञ्चालनका लागि आफ्नो राज्य पहिलो बन्न लागेको घोषणा गर्दै यस कदमले भारतको डिजिटल पूर्वाधारलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

कम–कक्षीय उपग्रहमार्फत उच्च–गतिको इन्टरनेट पुर्‍याउने उद्देश्यले सञ्चालित स्टारलिङ्क विशेषगरी दुर्गम र इन्टरनेट–विहीन क्षेत्रलाई लक्ष्य बनाउँछ। भारतमा यो प्रवेशसँगै मूल्य प्रतिस्पर्धा, स्पेक्ट्रम वितरण र बजार नीतिसम्बन्धी बहस पुनः चर्किने आकलन गरिएको छ।

यस वर्षको अन्त्यसम्म भारतमा ९० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता हुने अनुमानसँगै सरकारले जुन महिनामा स्टारलिङ्कलाई सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको थियो। मुख्यमन्त्री देवेन्द्र फड्नाविसले मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत “महाराष्ट्र स्टारलिङ्कसँग सहकार्य गर्ने पहिलो राज्य बन्नेछ” भन्दै यसले भारतलाई उपग्रह–आधारित डिजिटल पूर्वाधारमा अग्रणी बनाउने दाबी गरे।

यसअघि जियो प्लेटफर्म्स र भारती एयरटेलले समेत आफ्ना ग्राहकहरूलाई स्टारलिङ्क इन्टरनेट उपलब्ध गराउन स्पेसएक्ससँग सहकार्यको योजना सार्वजनिक गरिसकेका छन्। स्टारलिङ्ककी व्यापार सञ्चालन उपाध्यक्ष लरेन ड्रेयरले भारतको डिजिटल यात्रामा साथ दिन पाउँदा अत्यन्त उत्साहित रहेको बताउँदै, अन्तिम स्वीकृति मिल्नेबित्तिकै विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक सेवाहरूलाई दुर्गम स्थानमै इन्टरनेटसँग जडान गरिने उल्लेख गरिन्।

विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतमा पछिल्ला वर्षहरूमा ठूला प्रविधि कम्पनीको तीव्र लगानी बढ्दो छ। गुगलले आगामी पाँच वर्षमा १५ अर्ब डलर लगानी गरी एआई हब तथा डेटा सेन्टर निर्माण गर्ने योजना बताएका छन्। त्यस्तै, एन्थ्रोपिक, ओपनएआई र पप्लेर्क्सिटीजस्ता अमेरिकी कम्पनीहरूले पनि भारतमा कार्यालय विस्तार र रणनीतिक साझेदारीको तयारी गरिरहेका छन्।

स्टारलिङ्कको आगमनसँगै भारतको डिजिटल रूपान्तरणमा नयाँ अध्याय खुल्ने, विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका लाखौँ नागरिकले भरपर्दो इन्टरनेट पहुँच पाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *