मंगलबार साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष चौधरीले पदत्याग गरेको दाबी गर्दै एक पत्र सार्वजनिक भयो, जसमा ५ असोजको मिति उल्लेख थियो र १८ कात्तिकमा कार्यपालिका बैठकबाट स्वीकृत भएको देखिन्थ्यो। उपाध्यक्ष कल्पना चौधरी र वडा नम्बर १ का वडाध्यक्ष सबजुल खलिफाले पनि अध्यक्षले त्यही मितिमा राजीनामा बुझाएको प्रमाणित भएको बताएका छन्।
उपाध्यक्ष चौधरीका अनुसार, “मालिसको भिडियो सार्वजनिक भएको दिन नै अध्यक्षले राजीनामापत्र बुझाउनुभएको थियो। कात्तिक १८ गते कार्यपालिकाले स्वीकृत पनि गरिसकेको छ।” एमालेबाट निर्वाचित वडाध्यक्ष खलिफाले पनि यही भनाइ दोहोर्याए।
तर, यो दाबी सार्वजनिक भएको भोलिपल्टै अध्यक्ष दिनानाथ चौधरीले विज्ञप्ति जारी गर्दै आफूले कुनै पनि अवस्थामा राजीनामा नदिएको स्पष्ट पारिदिए। उनले सो पत्रलाई ‘पूर्ण रूपमा किर्ते, नियोजित र भ्रम फैलाउने प्रयास’ भएको आरोप लगाउँदै प्रश्न उठाए— “यदि मैले राजीनामा दिएको भए, त्यही अवधिमा कार्यपालिका बैठक कसरी बस्यो ? म कागजी काममा सहभागी किन थिएँ ? मेरो सनाखत बिना कसरी राजीनामा स्वीकृत भयो ?”
उता, उपाध्यक्ष कल्पना चौधरी भने आफ्नो अडानमा उभिएकी छन्। उनका अनुसार राजीनामा असोज ६ गते दर्ता भएको र कात्तिक १८ गते स्वीकृत भइसकेको छ। उनले यो विषयमा निर्वाचन आयोगलाई पनि जानकारी पठाइसकिएको बताइन्।
राजीनामा वास्तविक हो कि अफवाह मात्रै— यसमा दुई पक्षबीच ठूला मतभेद देखिँदा गाउँपालिकामा अन्योल झनै बढेको छ। अध्यक्ष चौधरीले आफू कार्यपालिकामा अल्पमतमा परे पनि विकासका काममा सप्तरीकै उत्कृष्ट पालिकामध्ये राख्न सफल भएको दाबी गर्दै विपक्षीहरूले षड्यन्त्र र जालसाँजीको बाटो अपनाएको आरोप लगाएका छन्।
उनको थप प्रश्न छ— “यदि मैले राजीनामा दिएको भए, तत्कालै सार्वजनिक किन भएन ? दर्ता–चलानी नम्बर बिना ४२ दिनपछि कसरी राजीनामा बाहिर आउँछ ?”