उपमहानगरपालिकाका अनुसार निर्माण कार्यमा देखिएको ढिलासुस्ती र लापरवाहीका कारण विकास योजनाहरूमा नकारात्मक प्रभाव परेको छ। समयमै काम सुरु नगर्ने कम्पनीहरूमाथि अब सार्वजनिक खरीद ऐन र नियमावलीअनुसार कारबाही गरिने चेतावनी पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर अभयकान्त झाले दिएका छन्।
हाल वडा नं. १९ मा वडा कार्यालय भवन, वडा नं. १६ सखुवाघाटमा विद्यालय भवन (ट्रस निर्माण) र वडा नं. ४ मा सामुदायिक भवन अगाडिको कल्भर्ट तथा बाटो निर्माणका काम ढिलो भइरहेको उपमहानगरपालिकाले जनाएको छ। यी योजनाहरूमा क्रमशः साम्राट निर्माण सेवा (बारा) र एस एण्ड बी कन्स्ट्रक्सन (पर्सा) ले ठेक्का पाएका छन्।
नगर प्रमुख राजन पौडेलले विकास निर्माणमा पारदर्शिता, समयपालना र गुणस्तरीयता सुनिश्चित गर्न सबै ठेकेदार कम्पनीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका छन्। साथै, भविष्यमा यस्ता लापरवाही दोहोरिन नदिन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरेका छन्।
यसअघि पनि उपमहानगरपालिकाले एन.के. कन्स्ट्रक्सन प्रा.लि. (पर्सा), डी.एण्ड डी. कन्स्ट्रक्सन (बारा), धिरज निर्माण सेवा (रौतहट), श्री बजरङ्ग कन्स्ट्रक्स, जसौली निर्माण सेवा (पर्सा), मकवानपुर कन्स्ट्रक्सन प्रा.लि. र जय शम्भु भोलेनाथ कन्स्ट्रक्सन (मकवानपुर) गरी सात कम्पनीलाई सात दिनको अल्टिमेटम दिइसकेको थियो।

