SLF KHABAR
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघ नेपालले साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराउने प्रक्रिया अघि बढाएको छ। मेयर शाहले सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसले राजनीतिक दलहरूको मानहानि गरेको र राष्ट्रिय हितमा आंच पु¥याएको भन्दै संघका नेताहरू बुधबार साइबर ब्युरो पुगेका हुन्।
युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले मेयर शाहले लेखेको स्टाटस राष्ट्रको स्वाधीनतामाथि नै प्रश्न उठाउने खालको रहेको आरोप लगाउँदै त्यसका लागि कानुनी कारबाही आवश्यक भएको बताए। शनिबार मध्यराति बालेनले सामाजिक सञ्जालमा आपत्तिजनक तथा अश्लील शब्दसहित चीन, भारत, अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै स्टाटस लेखेका थिए।
स्टाटस लेखेको केहीबेरमै चर्को आलोचना सुरु भएपछि उनले पोस्ट हटाए पनि त्यसको स्क्रिनशट सामाजिक सञ्जालभरि भाइरल बनेको थियो। यही विषयलाई लिएर युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका नेताहरूले राजधानीको मेयरजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले मित्रराष्ट्र र दलहरूलाई अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय भएको भन्दै कडा कारबाहीको माग गरेका छन्।
साइबर ब्युरोका एक अधिकारीले मेयर शाहविरुद्ध उजुरी परेको पुष्टि गरेका छन्। तर, उनीका अनुसार उजुरी हाल दर्ता प्रक्रियामै रहेको छ। “उजुरी बुझेका छौँ, तर दर्ता प्रक्रिया जारी छ,” ब्युरो स्रोतले जानकारी दियो।

