हिउँदे र वर्खे दुवै सिजन मिलाएर ५१ हजार मेट्रिक टनभन्दा बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी धनश्याम बरालले जानकारी दिए। उनका अनुसार विगतमा निर्वाहमुखी रूपमा सीमित रहेर आलु खेती गर्ने किसान अहिले व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै गइरहेका छन्।
भोजपुरमा दुई सिजनमा गरी ३,२७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ। “पछिल्लो समय व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ,” बरालले बताए, “गत वर्ष उत्पादन ५१ हजार मेट्रिक टन नाघेको थियो, जसले किसानको आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ।”
ज्ञान केन्द्रले उन्नत जातका बीउ वितरणसँगै विभिन्न स्थानमा आलु पकेट क्षेत्र निर्धारण गरी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको छ। किसानका अनुसार जिल्लामा वर्खे आलुको उत्पादन विशेष रूपमा बढी हुने गरेको छ।
टेम्केमैयुङ–५ मझौलेका किसान धनराज राईका अनुसार ग्रामीण क्षेत्रमा सडक विस्तार भएपछि आलु बेचबिखन निकै सहज भएको छ। “पहिले बजारसम्म पुर्याउन पिठ्युँमा बोकेर बेँसीसम्म लैजानुपर्थ्यो, धानसँग साट्ने गर्थ्यौँ,” उनले स्मरण गरे, “अब भने ठेकेदारहरू गाडी लिएर घरमै आउँछन्।”