१० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा पूर्ण रोक, नियम उल्लङ्घनमा अनुमति स्वतः खारेज

SLF KHABAR
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा पूर्ण रोक लगाएको छ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार, १० वर्ष उमेर नाघेका कुनै पनि एम्बुलेन्स सञ्चालनमा भेटिए तत्काल सञ्चालन अनुमति तथा दर्ता स्वतः खारेज हुने व्यवस्था लागू भएको छ। सरकारले एम्बुलेन्स सेवा सुरक्षित, मापदण्डयुक्त र प्रभावकारी बनाउनका लागि यो कडा कदम उठाएको हो।

 

हालका दिनमा विभिन्न जिल्लामा एम्बुलेन्सको दुरुपयोग, व्यापारिक प्रयोजनमा प्रयोग तथा निर्देशिका विपरीत सञ्चालनबारे गुनासा बढेपछि मन्त्रालयले कडाइ गर्दै यस्तो निर्णय लिएको जनाएको छ। स्वास्थ्य संस्था तथा अस्पतालका नाममा उपलब्ध गराइएका एम्बुलेन्सलाई आपत्कालीन स्वास्थ्य सेवा र पूर्व-स्वास्थ्य सेवाबाहेक अन्य प्रयोजन—जस्तै भाडामा प्रयोग, निजी काम वा व्यापारिक उपयोग—मा प्रयोग गरे कडा कानुनी कारबाही र अनुमति खारेजसम्म हुने चेतावनीसमेत मन्त्रालयले दिएको छ।

 

नेपाल–भारत आवाजाज गर्ने एम्बुलेन्सका लागि पनि नयाँ कडाइ लागू गरिएको छ। अब विशेष परमिट भारतीय दूतावासबाट प्राप्त गरेको र सबै मापदण्ड पूरा गरेको एम्बुलेन्सलाई मात्र सीमा नाकाबाट आवागमन गर्न दिने व्यवस्था गरिएको छ।

 

एम्बुलेन्स सेवा निर्देशिका–२०८२ अनुसार पैठारीमा उपलब्ध राजश्व छुट, अनुमति नवीकरण, नियमित अनुगमन तथा अनुमति खारेजसम्बन्धी प्रक्रिया स्पष्ट रूपमा निर्दिष्ट भएकाले त्यसको पूर्ण पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, व्यवस्थापन समिति तथा सुरक्षाकर्मीलाई मन्त्रालयले निर्देशन दिएको छ।

यस निर्णयले मापदण्डविहीन तथा पुराना एम्बुलेन्स क्रमशः सडकबाट हट्ने, बिरामीको सुरक्षामा सुधार आउने र आपतकालीन सेवाको गुणस्तर अझ उकासिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *