अब मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्ताले विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले आफ्नो केन्द्रीय बिलिङ प्रणाली अद्यावधिक गरी साउन महिनादेखिको विद्युत् बिलमा नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत आन्तरिक राजस्व वृद्धि गर्ने उद्देश्यले ऊर्जा क्षेत्रमा नयाँ कर व्यवस्था लागू गर्ने घोषणा गरेका थिए।
प्राधिकरणका अनुसार मासिक ५० युनिटसम्म विद्युत् प्रयोग गर्ने ग्राहकलाई कुनै अतिरिक्त कर लाग्ने छैन। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकले ५० युनिटभन्दा माथिको महसुल रकममा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ।
नयाँ व्यवस्थाले कम विद्युत् प्रयोग गर्ने तथा न्यून आय भएका उपभोक्तालाई असर नगर्ने बताइएको छ। मासिक ५० युनिट वा सोभन्दा कम विद्युत् खपत गर्ने ग्राहकहरू यस करबाट पूर्ण रूपमा मुक्त रहनेछन्।
प्राधिकरणको तथ्याङ्कअनुसार देशभर ३० लाखभन्दा बढी घरायसी ग्राहकले मासिक ५० युनिटसम्म मात्रै विद्युत् प्रयोग गर्ने गरेका छन्। त्यसैले अधिकांश उपभोक्तामा प्रत्यक्ष असर नपर्ने दाबी गरिएको छ।
तर सहरी क्षेत्रका तथा विद्युतीय उपकरणको बढी प्रयोग गर्ने मध्यम र उच्च आय वर्गका उपभोक्ताले भने अब थप शुल्क तिर्नुपर्ने भएको छ।