SLF KHABAR
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले हालै एक सूचना जारी गर्दै तोडफोड, आगलागी र त्यस क्रममा भएका लुटपाट तथा चोरीका सामानहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ। भदौ २४ गते भएको घटनामा उपमहानगरपालिकाको केन्द्रीय कार्यालयदेखि मातहतका वडा कार्यालय र विभिन्न स्वास्थ्य संस्था तथा सेवा केन्द्रमा समेत व्यापक क्षति पुगेको जनाएको छ।
उक्त दिन भीडले नियन्त्रण बाहिर गई सरकारी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने मात्र नभई आगजनी समेत गरेका थिए। त्यस क्रममा कार्यालयमा रहेका सवारीसाधन—गाडी, मोटरसाइकल, साइकलदेखि लिएर कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, सिसिटिभीजस्ता प्राविधिक उपकरणसम्म चोरी र नष्ट गरिएको विवरण सार्वजनिक गरिएको छ। साथै, कार्यालयमा प्रयोग हुने टेबल, कुर्सी, दराज, भाँडाकुडा लगायतका सामग्री समेत पूर्ण रूपमा क्षति पु¥याइएको हो।
उपमहानगरपालिकाले यस्तो कार्यलाई गम्भीर आपराधिक घटना भन्दै सम्पत्तिको संरक्षण नागरिकको साझा जिम्मेवारी भएको औंल्याएको छ। साथै, चोरी वा लुटिएका सामग्री जसको हातमा पुगेको भए पनि तत्काल उपमहानगरपालिका कार्यालयमा बुझाउन आग्रह गरिएको छ। अन्यथा कानूनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
यससँगै स्थानीय प्रशासन र सुरक्षासंस्थाहरूलाई घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन पनि उपमहानगरपालिकाले आग्रह गरेको छ। जनताको हितमा सञ्चालन हुने सेवामूलक संस्थामाथि आक्रमण गर्नु गम्भीर अपराध भएको भन्दै यस घटनाले नगरको सामान्य प्रशासनिक कामकाज र सेवा प्रवाह प्रभावित भएको उपमहानगरपालिकाले जनाएको छ।

