परवानीपुर गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन सम्पन्न

SLF KHABAR
परवानीपुर गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन आज पालिकाको सभा हलमा सम्पन्न भएको छ।

चालु आर्थिक वर्षको हिउँदे अधिवेशनका रूपमा सम्पन्न उक्त सभामा गाउँपालिकाको समग्र प्रगति र आगामी कार्यदिशाबारे समीक्षा गरिएको थियो।

गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो। साथै चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन पेश गर्नुका साथै स्वीकृत योजना तथा कार्यक्रमको संशोधनसमेत पारित गरिएको थियो।

सभाका क्रममा जनप्रतिनिधिहरूले उठाएका गुनासो तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष कुर्मीले सम्बोधन गर्नुभएको थियो। उहाँले वडा नम्बर १ देखि ५ सम्म भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, दलितलगायतका क्षेत्रमा उल्लेखनीय काम भइरहेको बताउँदै समृद्ध परवानीपुर गाउँपालिका निर्माणका लागि वडाध्यक्ष, वडासदस्यसहित सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

अध्यक्ष कुर्मीले निर्वाचित भएयता गाउँपालिकाको विकासका लागि सबै जनप्रतिनिधि, विभिन्न संघ–संस्था तथा सरोकारवालाबाट सहयोग प्राप्त भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी र जनमुखी कामका लागि निरन्तर सहयोगको अपेक्षा रहेको धारणा राख्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्वागत मन्तव्य दिनुका साथै चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो।

यसैबीच, गाउँसभाको १७औँ अधिवेशनको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा ठूलो करदाता रहेका ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि. का सञ्चालक सुरेश रुंगटालाई ९ लाख ६० हजार रुपैयाँ कर बुझाएको योगदानको कदर गर्दै दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। त्यस्तै जय श्री हेल्थ केयर प्रा.लि. लाई समयमै ६ लाख रुपैयाँ कर बुझाएकोमा सम्मान गरिएको थियो।

यस्तै आर्थिक वर्ष २०८१/०८२ मा वडा मातहतका उद्योगहरूबाट सहजीकरण गर्दै १४ लाख १० हजार रुपैयाँ कर संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरीका वडा अध्यक्ष रामेश्वर साह कलवारलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *