रोशन गुप्ता
बारा, २९ बैशाख
कैलालीको धनगढी उपमहानगरपालिकाले वैशाखका लागि उत्कृष्ट सामुदायिक विद्यालयको घोषणा गरेसँगै शिक्षा वृद्धिका लागि गरिएको प्रयासलाई धनगढी उपमहानगरपालिकाले बैशाखका लागि उत्कृष्ट सामुदायिक विद्यालयको मान्यता दिएको हो । गत शुक्रबार नगरको हलमा आयोजित मासिक प्रधानाध्यापकको बैठकमा यी विद्यालयले सञ्चालन गरेका शैक्षिक पहलका बारेमा प्रस्तुती करण पछि उक्त घोषणा गरिएको हो ।
६८ वटा सामुदायिक विद्यालयमध्ये ३० वटाको मूल्याङ्कन गरिएको छ भने धनगढी–२ बैदेहीस्थित शारदा मावि उत्कृष्ट भएको छ । नगर प्रमुख गोपाल हमालले विद्यालयलाई नगद रु १५ हजार सहित सम्मान पत्र प्रदान गरे ।
शैक्षिक सत्र २०८१ का लागि शैक्षिक व्यवस्थापन अभिवृद्धि गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका र सबै सामुदायिक विद्यालयबीच २०८० चैत ८ गते कार्य सम्पादन सम्झौता भएको थियो । विभिन्न ७२ वटा सूचक सँग सम्बन्धित मासिक क्रियाकलापका बारेमा प्रधानाध्यापकको प्रस्तुतिका आधारमा उत्कृष्ट विद्यालय छनोट गरिएको हो ।
शारदा माविका प्रधानाध्यापक तेजबहादुर सिंहले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाउने, शैक्षिक सुधारलाई प्रोत्साहन गर्ने र उत्कृष्ट अभ्यासको आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पञ्चोदय मावि हसनपुरका प्रधानाध्यापक हरिशकुमार ओझाले धनगढीको पछिल्लो शैक्षिक प्रगतिको प्रशंसा गरे भने मेयर हमालले धनगढीको शैक्षिक प्रगतिका बारेमा प्रकाश पार्दै शिक्षकहरुको समर्पित प्रयासले सफलता हासिल गरेको बताए ।

