वडा अध्यक्ष गुप्ताको कार्यकालभर निःशुल्क कम्प्युटर कोर्स

रोशन गुप्ता

जीतपुर, ३ जेष्ठ

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा कम्प्युटर कक्षा सञ्चालन तथा हस्तान्तरण कार्यक्रमको उद्घाटन गरिएको छ । प्रदेश सभा सदस्य देवनारायण चौधरीले फकिरा गिरी राजेश्वर गिरी माविमा निःशुल्क कम्प्युटर कक्षाको उद्घाटन गरेका छन । यही जेठ २ गते देखि शुरु भएको यो कक्षा वडाध्यक्ष सुनिलकुमार गुप्ताको पदावधिसम्म सञ्चालन हुनेछ ।

कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिका–७ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिलकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा मधेस प्रदेशसभा सदस्य चौधरीले एक्काइसौँ शताब्दीको विश्व रोजगारी बजारका लागि सु–सूचित र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न कम्प्युटर शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उहाँले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको प्रगतिको प्रशंसा गर्दै विद्यालयको भौतिक र शैक्षिक विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरप्रमुख राजन पौडेलले जितपुरसिमरा उपमहानगरपालिका अन्य नगरपालिकाको तुलनामा तुलनात्मक रुपमा कमजोर रहेको भन्दै यसको शैक्षिक परिदृश्य लाई उकास्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । वडा अध्यक्ष सुनिलकुमार गुप्ताले प्रविधिको माध्यमबाट सेवामा पहुँच पु¥याउने, गुणस्तर वृद्धि गर्ने र व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताए ।

गुप्ताले महत्वपूर्ण कार्यहरु छिटो सम्पन्न गर्न कम्प्युटरको दक्षता रहेको भन्दै वडास्तरीय कोषको प्रयोग गरी कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उपप्रमुख भोलाप्रसाद अधिकारीले फकिरा गिरी राजेश्वर गिरी माविमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको स्वीकार गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो ।

कम्प्युटर कक्षामा जीतपुरसिमरा उपमहानगरपालिकाका सबै वडाका करिब ४०० विद्यार्थी सहभागी छन । विद्यालयका प्रिन्सिपल राजु सिंहले एक पटकमा ४० जनासम्म विद्यार्थी राख्न मिल्ने गरी बिहान र बेलुकाको सिफ्ट लागू गरिएको बताए ।

सूर्य नेपालले निःशुल्क कम्प्युटर कक्षाका लागि १५ थान कम्प्युटर, एउटा युपिएस र एक थान प्रिन्टर सहयोग गरेको छ भने वडा कार्यालयले थप २० थान कम्प्युटर उपलब्ध गराएको छ । कार्यक्रममा वडा सदस्य सीता उप्रेती, ललितादेवी पासवान, नुरुल होडालगायतको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *