अस्पतालमा पानी जमेको दृश्यलाई ट्रोल गरेपछि मेयर पौडेलको व्यंग्य : आशिका तामाङलाई दिए धन्यवाद

SLF KHABAR
जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सामाजिक सञ्जालमार्फत नगर अस्पतालमा निर्माणाधीन अवस्थामा खिचिएको भिडियोप्रति असन्तुष्टि जनाएका छन्।

अभियन्ता आशिका तामाङले अस्पताल परिसरमा पानी जमिएको भिडियो फेसबुकमा पोस्ट गरेपछि मेयर पौडेलले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै उक्त सामग्रीलाई “नकारात्मक ट्रोल” भन्दै आलोचना गरेका हुन्।

फेसबुक स्टाटसमा मेयर पौडेल लेख्छन्, “अहिले सुख्खा ग्रस्त हाम्रो क्षेत्र पानीले भिजेको छ। पानी परेपछि बाछिट्टा छिर्ने वा गहिरो स्थानमा पानी जम्ने स्वाभाविक कुरा हो। यस्तो सामान्य अवस्थालाई नकारात्मक रूपमा प्रस्तुत गरेर ट्रोल गर्नुको कुनै औचित्य छैन। यस्तो सामग्री बनाएकोमा आशिका तामाङलाई धन्यवाद भन्न सकिन्छ।”

उनले तामाङलाई सो स्टाटसमा मेन्सन पनि गरेका छन्।

पौडेलका अनुसार नगर अस्पताल अझै निर्माणको क्रममा रहेको छ। हाल अस्थायी रूपमा पहिलेको प्राथमिक स्वास्थ्य केन्द्रको भवनबाट दैनिक करिब २०० जनालाई सेवा दिइँदै आएको जानकारी उनले दिएका छन्। सेवाग्राहीको भीड बढेपछि अस्थायी प्रतिक्षालय निर्माण गरिएको उनको भनाइ छ।

यता, आशिका तामाङले सार्वजनिक गरेको भिडियोलाई लिएर सामाजिक सञ्जालमा बहस चर्किएको छ। भिडियोमा अस्पतालको परिसरमा पानी जमिएको, सेवाग्राहीहरू लाइनमा बसेका, वरिपरि फोहोर देखिएको र कुकुर सुतिरहेको दृश्य देखिन्छ।

उनले भिडियोमा लेखेकी छन्, “नगर अस्पताल सिमरा, जहाँ लड्यो भने देखिन्छ ठूलो तारा।”

भिडियो अहिले भाइरल बनेको छ, र यो समाचार तयार पार्दासम्म १ लाख ६३ हजारभन्दा बढी पटक हेरिसकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *