विद्यालय समयमै कक्षा छाडेर अन्यत्र जाने शिक्षक/शिक्षिकामाथि कारबाही गर्ने उपमहानगरको चेतावनी

SLF KHABAR
जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालय समयमै कक्षा छाडेर अन्यत्र जाने शिक्षक/शिक्षिकामाथि अब कडा निगरानीसहित कारबाही गर्ने भएको छ।

सोमबार एक सार्वजनिक सूचना जारी गर्दै उपमहानगरपालिकाले विद्यालय समयमा शिक्षक/शिक्षिका अन्य शिक्षण संस्थानमा पढाउन गएका बारेमा पटक–पटक गुनासो आइरहेकाले अबदेखि यस्ता गतिविधिमा संलग्नलाई नछोड्ने स्पष्ट संकेत दिएको हो।

शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादका अनुसार, समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू कक्षा ११ र १२ मा अन्य विद्यालयमा पढाउन गइरहेका जनगुनासोहरू बढ्दै गएपछि उपमहानगर कारबाहीमा उत्रिन लागेको हो।

सूचनामा उल्लेख गरिएअनुसार विद्यालय समयमा अन्यत्र जाने शिक्षकहरू मात्र होइन, उनीहरूलाई जान अनुमति दिने प्रधानाध्यापकहरूमाथिसमेत आवश्यक कारबाही गरिनेछ।

उपमहानगरपालिकाका अनुसार, लामो समयदेखि शिक्षक/शिक्षिका विद्यालयमै रहेर कक्षा कोठामा नजाने, मोबाइल चलाउनेजस्ता गतिविधि बढिरहेका छन् जसले पठनपाठनमा प्रतिकूल असर पारिरहेको छ।

अब यस्ता कार्यशैलीलाई सहन नहुने स्पष्ट गर्दै पालिकाले विद्यालयको अनुशासन कायम राख्न सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *