SLF KHABAR सर्वोच्च अदालतले खण्डहर बनेको आफ्नै परिसरबाट न्यायिक काम पुनः प्रारम्भ गरेको छ। ‘जेन–जी’ आन्दोलनका क्रममा गत मंगलबार भएको तोडफोड र आगजनीपछि अदालतको भवन क्षतिग्रस्त भएपछि आँगनमा पाल टाँगेर सेवा सुरु गरिएको हो।
आजदेखि बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ थालिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जलेका भवनहरूको निरीक्षण गरी तयारीबारे जानकारी लिएका छन्।
अदालतको आँगनमै जलेका गाडीहरूको थुप्रो देखिन्छ। न्याय परिषद् रहेको भवनमा भने कम क्षति पुगेकाले त्यहाँ न्यायाधीशका कार्यकक्ष र इजलास सञ्चालनको तयारी भइरहेको छ।
परिसरमा कर्मचारीसहित सर्वसाधारणको भीड देखिएको थियो। सेवाग्राहीलाई इजलास सञ्चालन र भवनको प्रयोगबारे जानकारी दिन सर्वोच्चले उनीहरूको सम्पर्क नम्बर टिपेर राखेको छ, भन्ने जानकारी सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले दिएका छन्।