काभ्रेको पनौतीस्थित सुरक्षा मुद्रण केन्द्रले शुक्रबारदेखि ‘हाइस्पिड प्रिन्टिङ मेसिन’मार्फत लाइसेन्स छपाइ सुरु गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मेसिनको बटन थिचेर छपाइ कार्य प्रारम्भ गरिदिए।
पहिलो चरणमा ६ महिनामा १२ लाख लाइसेन्स छाप्ने लक्ष्यसहित केन्द्र र यातायात व्यवस्था विभागबीच सम्झौता भएको छ। हाल एक मेसिनले दैनिक करिब ५०० वटा लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ।
पहिले विदेशी कम्पनीमार्फत प्रतिकार्ड ३०० रुपैयाँ लागत पर्ने लाइसेन्स, अब सरकारी प्रेसमै छपिँदा लागत २०० रुपैयाँमा झरेको कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए। मन्त्री खरेलका अनुसार ३० लाखभन्दा धेरै नागरिक लाइसेन्सविहीन हुनु अस्वीकार्य भएकाले अब सरकार आफैँ सक्षम भएर समयमै सेवा दिन अघि बढ्दैछ।
उनले नागरिकतादेखि पासपोर्टसम्मका महत्वपूर्ण कागजातहरू पनि सुरक्षा मुद्रण केन्द्रमै छाप्न तयार भइरहेको उल्लेख गरे। १० कात्तिकमा सुरक्षा मुद्रण नियमावली राजपत्रमा आएपछि छपाइ प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।