रोशन गुप्ता
काठमाडौँ, ७ असोज
विश्वका २५ करोड भन्दा बढी बालबालिका अझै पनि शिक्षाको पहुँचबाट बञ्चित छन । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार अहिले विश्वका २५ करोडभन्दा बढी बालबालिका विद्यालयको पहुच भन्दा बाहिर छन । दक्षिण एसियामा मात्रै तीन करोड ५० लाख भन्दा बढी बालबालिका पूर्व प्राथमिक शिक्षामा भर्ना हुन सकेका छैन ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र युनिसेफको प्रतिवेदनअनुसार पूर्व प्राथमिक शिक्षामा पहुँच नपुगेका बालबालिकाको सङ्ख्यामा वृद्धि भएका राष्ट्रहरूमा उल्लेखनीय असमानता छ । न्यून आय भएका देशहरूमा प्रत्येक पाँच जनामध्ये एक जना मात्र पूर्व प्राथमिक शिक्षामा भर्ना हुन्छन ।
प्रतिवेदन अनुसार अफ्रिकामा ९ करोड ८० लाख बालबालिका शिक्षाबाट बञ्चित छन भने मध्य र दक्षिण एसियामा करिब ८ करोड ५० लाख बालबालिकाले यस्तै चुनौतीको सामना गरिरहेका छन । यी तथ्याङ्कले सन २०३० सम्ममा सबैका लागि सुधारिएको शिक्षा प्रदान गर्ने संयुक्त राष्ट्रसङ्घको लक्ष्य हासिल गर्न बढ्दो जोखिमलाई सङ्केत गर्छ ।
सन २०२१ देखि विद्यालय बाहिर रहेका बालबालिकाको संख्या घट्नुको साटो बढ्दै जाने चिन्ताजनक प्रवृत्ति देखिएको छ । दुई वर्षको अवधिमा यो संख्या ६० लाखले बढेर कुल २५ करोड पुगेको छ । गरिबी, द्वन्द्व, मातृ शिक्षाको स्तर र विद्यालयको निकटता जस्ता कारणहरूले गर्दा बच्चाहरू विद्यालय जान नसक्नुको मुख्य कारण भए तापनि गरिबी सबैभन्दा प्रमुख निर्धारक हो ।

