रोशन गुप्ता
जितपुर, १९ असोज
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय सिमराको आयोजना तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रमले उद्यमीहरूलाई करका विभिन्न पक्षहरू, कर नीतिहरू, छूटहरू र व्यवसायसँग सम्बन्धित कर मामिलाहरूमा शिक्षित र संलग्न गर्ने उद्देश्य राखेको थियो ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाभित्र लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई करसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख राजकुमार खतिवडाको अगुवाइमा भएको कार्यक्रममा सामान्य करको जानकारी, करका प्रकार, स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न आवश्यक पर्ने आवश्यकता, उपलब्ध छुट, आय–व्यय विवरण बुझाउने प्रक्रिया लगायत विविध विषयमा छलफल भएको थियो । प्यान दर्ता र कर भुक्तानीका क्रममा व्यवसायीले सामना गर्नुपरेका चुनौतीका बारेमा पनि छलफल भएको थियो भने करदातालाई फाइदा पुग्ने गरी यी विषयलाई सम्बोधन गर्ने आयोजकको प्रतिबद्धता रहेको थियो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्माले यस क्षेत्रमा अज्ञानताले व्यवसायको शिश्चित बाधा पु¥याउन सक्ने भएकाले करसम्बन्धी विषयमा व्यवसायीलाई राम्रोसँग जानकारी हुनुपर्नेमा जोड दिए । उनले कुनै निश्चित क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्दा कर तिर्ने र सरकारलाई राजस्व बुझाउने दायित्व व्यवसायीको भएको बताए । उनले आर्थिक वृद्धिका लागि व्यवसायमैत्री वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे ।
व्यवसायीहरू करको दायित्व पूरा गर्न इच्छुक रहेको तर करको दर बढाउनेभन्दा पनि कर असुलीको दायरा बढाउनेतर्फ ध्यान दिनुपर्ने शर्माको भनाइ छ । कार्यक्रममा कर सम्बन्धी विभिन्न विषयमा छलफल गरिएको थियो भने हृदयनारायण महतोजस्ता व्यक्तिहरूले प्रदान गरेका अन्तर्दृष्टिहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा रुपेश पोखरेल, राजु श्रेष्ठ, सञ्जय साह, युवराज पौडेल, अर्जुन लम्साल (होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष) लगायत उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

