नेपालगञ्जमा बालेन शाहका समर्थक गाडीबाट खस्दा घाइते

SLF KHABAR
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खसेका छन्।

बालेन शाह नेपालगञ्ज जाने कार्यक्रम रहेकाले उनका समर्थकहरू विमानस्थल पुगेका थिए। सो क्रममा समर्थक सवार गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए।

एसपी जिसीका अनुसार ४–५ जना समर्थक गाडीबाट खसेको सूचना प्राप्त भएको छ। विमानस्थल परिसरभित्रकै सडक भएकाले गाडी तीव्र गतिमा नरहेको र घटनामा परेकाहरू सामान्य घाइते मात्र भएको प्रारम्भिक जानकारी आएको उनले बताए।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन शाह रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत रहेका छन्। उनी हाल चुनावी प्रचार–प्रसारका लागि पश्चिमतर्फ गएका हुन्। बालेन शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

झापामा उम्मेदवारी दर्ता गरी पूर्वी पहाडी जिल्लाको भ्रमणपछि उनी काठमाडौं फर्किएका थिए भने आज पश्चिमतर्फ प्रस्थान गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *