जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार साँझ वीरगञ्ज महानगरपालिका–९ स्थित भुतबंगला नजिक साइकलमा आँप बिक्री गरिरहेका व्यक्तिले लागूऔषधसमेत बेचिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले निगरानी गरी उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत बिहारको बेतिया जिल्ला, गोपालपुर थाना अन्तर्गत घोघा वडा नम्बर–२ निवासी ३० वर्षीय गुड्डु आलम रहेका छन्। उनी हाल वीरगञ्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका थिए।
प्रहरीले खानतलासीका क्रममा आलमको साइकलको पछाडि झुन्ड्याइएको बोराभित्र कालो र सेतो प्लास्टिकमा लुकाइराखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ। बरामद पदार्थको कुल तौल प्लास्टिकसहित ३० ग्राम ७१० मिलिग्राम रहेको छ भने प्लास्टिकबाहेक ब्राउन सुगरको तौल २७ ग्राम २९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।