मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। साथै, ती पालिकाका खाता सञ्चालनमा समेत रोक लगाइएको छ।
मन्त्रालयका अनुसार सम्बन्धित पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको भए पनि उनीहरू नयाँ कार्यालयमा हाजिर नभई पुरानै पालिकामा कार्यरत रहँदै आएका थिए। त्यस्तै, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पालिकाले हाजिर गराएको थिएन।
यसै विषयलाई गम्भीर रूपमा लिँदै मन्त्रालयले नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।
त्यसैगरी, खाता सञ्चालनमा आवश्यक व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत मन्त्रालयले पत्राचार गरेको छ।