रोमानिया र नेपाल बिच श्रम सम्झौता, नेपालबाट ठुलो संख्यामा श्रमिक जाने

रोशन गुप्ता
काठमाडौँ, १९ असोज
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कु बीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । भेटमा मन्त्री भण्डारीले नेपाली श्रमिकका सरोकारलाई सम्बोधन गर्दै द्विपक्षीय श्रम सम्झौताको महत्व र प्रभावबारे जोड दिदै बताएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानियाली पक्षले नेपाली कामदारको हकहित र सुरक्षाका लागि आफ्नो प्रतिबद्धता दोहो¥याएको जनाएको छ । उनीहरूले कामदार छनोट प्रक्रियामा पारदर्शी रूपमा सहयोग गर्न उत्सुकता पनि व्यक्त गरेका छन, जसले छिटो भर्ती सुनिश्चित गर्दछ ।

युरोपियन मुलुक भएको नाताले रोमानियाले नेपाली कामदारका लागि सुरक्षित गन्तव्यका रुपमा आफ्नो आकर्षण कायमै राखेको छ । श्रम बजारको अथाह सम्भावनाका कारण दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षपछि यो श्रम सम्झौताले महत्वपूर्ण विकासको सङ्केत गरेको छ ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुवै देशले नेपालमा रोमानियाली दूतावास स्थापना गर्ने सहमति गरेका थिए । साथै, उनीहरुले कामदारको माग प्रमाणीकरण गर्ने, भिसा जारी गर्ने कार्यलाई तीव्रता दिने र श्रम स्वीकृति प्राप्त गर्ने प्रक्रियालाई सरल ीकृत गर्ने प्रतिबद्धता जनाएका छन् ।

रोमानियाले रोमानियामा नेपाली कामदारका लागि उपयुक्त दक्ष श्रम बजार पहिचान गर्न नेपालसँग सहकार्य गर्न चाहेको छ । महिला कामदारको सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्ने पनि उनीहरुको लक्ष्य छ । दोहोरो सम्झौता, आधारभूत अङ्ग्रेजीमा निपुणता र व्यावसायिक सीप जस्ता विषयको समाधान आपसी समन्वय र सहकार्यबाट अघि बढाइनेछ ।

रोमानियाले उनीहरूको कार्य नैतिकता, इमानदारी र लगनशीलताको कदर गर्दै नेपालबाट उल्लेखनीय संख्यामा कामदार भर्ती गर्न चासो व्यक्त गरेको छ । तर, नेपालबाट समयानुकूल रुपमा नैतिक भर्ती अभ्यासमार्फत कामदार भर्ना गर्ने सम्बन्धी कानूनी व्यवस्था र व्यवस्थापनबारे भने चिन्ता व्यक्त गरिएको थियो ।

रोमानियाली पक्षले आप्रवासी कामदारले रोमानियाली नागरिकसरह सामाजिक सुरक्षाको सुविधा पाउने विश्वास दिलाएको छ । दुवै पक्षले श्रमसँग सम्बन्धित निकायबीच घनिष्ठ समन्वय र सहकार्यगरी द्विपक्षीय श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

हस्ताक्षर समारोहमा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपालका तर्फबाट रामकाजी खड्का र रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *