कर्मचारी अभावले वीरगञ्जमा सरसफाईमा बाधा, वडाध्यक्षद्वारा मेयरलाई सहयोगको अनुरोध

रोशन गुप्ता
पर्सा, २७ असोज
वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्षहरूले एक महिनाअघि सफाइकर्मी, ट्याक्टर चालक, कम्प्युटर अपरेटर, नगर प्रहरीलगायत दैनिक ज्यालादारीमा काम गर्ने ४५० भन्दा बढी मजदुरलाई हटाएपछि सरसफाइ अभियान अवरुद्ध भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई हटाएपछि सरसफाइमा अवरोध र स्थानीयवासीको असन्तुष्टिप्रति वडाध्यक्षले चिन्ता व्यक्त गरेका छन् । कर्मचारी अभावका कारण स्थानीयवासी आक्रोशित भएको भन्दै उनीहरुले महानगरपालिकाको कार्यालयमा धर्ना दिने चेतावनी दिएका छन् ।
शुक्रबार बिहान वडाध्यक्षहरुले नगरप्रमुख राजेशमान सिंहलाई भेटेर सफाइकर्मीको पुनर्बहालीलगायत तत्काल कर्मचारी समायोजनगर्न आग्रह गरेका थिए । विसं २०७९ जेठमा बसेको महानगरको चौथो बोर्ड बैठकले प्रत्येक वडामा थप सफाइकर्मी, ट्याक्टर चालक, कम्प्युटर अपरेटर र दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी नियुक्त गर्ने निर्णय गरेको थियो । वडाध्यक्षहरूका अनुसार ती कर्मचारीलाई हटाउँदा वडा कार्यालयको सेवा अवरुद्ध हुनुका साथै सरसफाइ र यसअघिको निर्णयको पालनामा समेत असर परेको छ ।
वडा नं २५ का अध्यक्ष आशुतोष चतुर्वेदीले कर्मचारी अभावका कारण आफ्नो वडामा सरसफाइको काम ठप्प भएको भन्दै चिन्ता व्यक्त गरे । उनले ट्याक्टर चालकको अनुपस्थितिका कारण हप्तौंसम्म फोहर थुप्रिएको र सर्वसाधारणमा निराशा छाएको बताए । चतुर्वेदीले भनेका छन्, ुहामी अब जनताको आक्रोश सहन सक्दैनौं । महानगरले कर्मचारी उपलब्ध गराउनुपर्छ, नत्र वडाको साँचो उनीहरूलाई हस्तान्तरण गर्छौं ।
वडा नं ५ का अध्यक्ष प्रदीप चौरसियाले कतिपय वडामा कम्प्युटर अपरेटर हटाइएकाले जन्मदर्ता, मृत्यु दर्ता, सिफारिसलगायतका अत्यावश्यक सेवा प्रभावित भएको र अहिले महानगरपालिकाको कार्यालयमा बुझाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
कम्प्युटर अपरेटर नहुँदा रसिद दिने, सिफारिस पत्र तयार गर्ने, जन्म र मृत्यु दर्ताजस्ता काम गर्न समस्या भएको छ,ु वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाले भने। उहाँले अत्यावश्यक सेवा प्रवाहमा आइपर्ने कठिनाइ र जनअसन्तोषको बोझमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बोर्ड बैठक र परिषद्को निर्णयबाट नियुक्त भए पनि ४५० भन्दा बढी कर्मचारीलाई हटाइएको बताए । एक्कासि हटाइएको कदमले शहरको सरसफाइ र सौन्दर्यीकरणको प्रयासबारे चिन्ता बढाएको छ।
वडा नं १५ का वडाध्यक्ष रमेश यादवले पनि गत वर्ष नगरमा भएका सकारात्मक परिवर्तनका बारेमा चिन्ता व्यक्त गरे । तर, प्रमुख प्रशासकीय अधिकृतले वडाका कर्मचारीलाई हटाएपछि ती प्रयासमा बाधा पुगेको छ, जसका कारण जनतामा असन्तोष छाएको छ ।
नगरप्रमुख सिंहले कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको स्वीकार गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न वडाध्यक्षलाई आग्रह गरे ।
वडा अध्यक्षहरु जगत साह कानु, प्रदप चौरसिया, जयप्रकाश अग्रवाल, सुरेश गुप्ता, रमेश यादव, सञ्जु छटकुली, आशुतोष चतुर्वेदीलगायतको टोलीले नगर प्रमुखसमक्ष गुनासो पेश गरेको हो । बैठकमा वडा नं २६ का वडाध्यक्ष शम्भु मिश्रको पनि सहभागिता थियो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले गत भदौ २९ गते एक सूचना जारी गर्दै दैनिक ज्यालादारी र घरदैलोमा खटिने कर्मचारीलाई नियम उल्लङ्घन गरेको भन्दै भदौ २६ गतेदेखि पदबाट हटाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *