जीतपुरसिमराले लिखत प्रमाणितको शुल्क २०० मात्र लिनपाउने उच्च अदालतको अन्तरिम आदेश

रोशन गुप्ता
बारा, २४ असोज
उच्च अदालत, वीरगञ्जको अस्थायी इजलासले जीतपुरसिमरा उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएपछि अब लिखतको प्रमाणीकरण शुल्क रु २०० मात्र तोकिएको छ । यसअघि जितपुरसिमरा उपमहानगरपालिकाका वडाले लिखत प्रमाणीकरणका लागि रु ५०० लिने गरेका थिए भने अब २०० लिन सक्ने छन ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ३६ को उपदफा (४) बमोजिम स्थानीय तह वा वडा कार्यालयले घरमै तयार पारेको कागजात रुजु गर्दा अधिकतम रु २०० हजार शुल्क लाग्ने व्यवस्था छ । जितपुरसिमरा उपमहानगरपालिका र उपमहानगरपालिकाका वडा कार्यालयले रु ५०० को सट्टा रु २०० मात्र लिन पाउने कानूनी व्यवस्था रहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन २०८० ले सुरुमा कागजात प्रमाणीकरणका लागि रु ५०० शुल्क तोकेको थियो । तर, उच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गर्दै रिट निवेदनको अन्तिम फैसला नभएसम्मका लागि लिखत प्रमाणीकरणका लागि रु २०० मात्र लिन मिल्ने उल्लेख गरेको छ ।

जितपुरसिमरा वडा नं ५ घर भई कानूनका विद्यार्थी अभिनय गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकालाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलासले अन्तरिम आदेश जारी गरेको हो । गुप्ताका तर्फबाट अधिवक्ता सुधीरकुमार कर्ण र जितपुरसिमरा उपमहानगरपालिकाका तर्फबाट अधिवक्ता विद्यादेवी कटुवालले बहस गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *