रोशन गुप्ता
जीतपुर, २७ असोज
हिन्दूधर्मावलम्बीको महान चाड बडादशैँको उपलक्ष्यमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ सितारियो कराँते शाखामा रहेका विभिन्न मन्दिरमा सफाइ गरिएको छ ।
नेपाल सितारियो कराँते शाखाले आयोजना गरेको कार्यक्रममा खेलाडीले मन्दिर परिसरसफा गर्न पहल गरेका थिए । खेलाडीहरूले गढीमाई मन्दिर, बङ्गाली बाबा मठ, शिव मन्दिर, दुर्गा मन्दिर र दुर्गा माताको मण्डप जस्ता स्थानीय मन्दिरहरूको वरिपरिका क्षेत्रहरूको सरसफाइमा ध्यान केन्द्रित गरेका थिए। सफाइप्रतिको उनीहरूको प्रतिबद्धताले सामाजिक उत्तरदायित्वको भावना देखायो।
प्रशिक्षक मनोजकुमार साहको अगुवाइमा खेलाडीले सफाइमा मात्र होइन, आफ्ना सहकर्मी खेलाडीमा अनुशासन र समुदायको संलग्नता जगाउने लक्ष्य राखेका थिए । प्रशिक्षक साहले खेलकूदले व्यक्तिलाई समाज र संस्कृतिसँग जोड्न र समुदायमा जिम्मेवारीबोध जगाउन मद्दत गर्नेमा जोड दिए ।
नेपाल सितारियो कराँते शाखा डोजो जितपुरको अगुवाइमा भएको यो प्रयासले अनुकरणीय नजिर स्थापित गरेको छ । कराँतेका पूर्व खेलाडी राजेश गुप्ताले भनेजस्तै यसमा समर्पण र समुदायको संलग्नताको भावना झल्किन्छ ।

