नवल यादव
पर्सा, १० मंसिर
पर्सा मिलन केन्द्र काठमाडौँद्वारा आयोजित २३ औँ पर्सा दिवसको अवसरमा गाउँपालीका अध्यक्ष जसवन्त यादव सम्मानित भएका छन् । प्रत्येक वर्ष केन्द्रले मनाउँदै आएको पर्सा दिवसको अवसरमा अध्यक्ष यादव सम्मानित भएका हुन् ।
केन्द्रले सामान्यता कार्तिक २६ गते पर्सा दिवस मनाउने गरेपछि यस वर्ष सोही दिन लक्ष्मी पूजा पर्न गएकोले यस वर्ष मङ्सिर ९ गते मनाइएको कार्यक्रममा यादवलाई सम्मानित गरिएको केन्द्रका अध्यक्ष उमेश गुप्ताले बताए ।
कार्यक्रममा शिक्षाअन्तर्गत त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्रका पूर्व प्राध्यापक डा. रामदेव तिवारी, स्वास्थ्यमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अचला वैध, कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यतर्फ दिनेश गुप्ता, उद्यमतर्फ ताराचन्द्र केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधान, सामाजिक रूपान्तरण, सेवा तथा शिक्षा क्षेत्रमा मनोज राम, पत्रकार ध्रुव साह र श्रवण साह, फोटोग्राफर मनिष पौडेल लगायतालाई सम्मानित गरिएको केन्द्रका अध्यक्ष गुप्ताले बताए ।
सम्मानित हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति राम सहाय यादव, विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललगायतले प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

