सूचना माग गर्दा विभिन्न बहाना देखाउँदै टार्ने र सूचना लुकाउने प्रयास गरेको भन्दै महतोप्रति असन्तुष्टि व्यक्त गरिएको हो । महतो ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयअन्तर्गतको उक्त कार्यालयमा सब इन्जिनियर (अधिकृत छैठौं) पदमा कार्यरत छन ।
महतोले आफुलाई बिना कारण सूचना अधिकारी बनाइएको दाबी गर्दै सो जिम्मेवारी लिन असहज भएको प्रतिक्रिया दिएका छन । “सूचना अधिकारी सातौं तहको हुनुपर्छ,” भन्दै उनले तत्कालीन कार्यालय प्रमुखले आफुलाई जिम्मेवारीमा “फसाएको” आरोपसमेत लगाएका छन ।
कार्यालयका चालु तथा निर्माणाधीन योजनाको विवरण माग गर्दा महतोले निवेदन अनिवार्य भएको र कार्यालय प्रमुखको आदेश विना कुनै सूचना नदिइने अडान राखेका थिए । पत्रकारहरूका अनुसार, यस व्यवहारले सूचना प्रवाहमा गम्भीर अवरोध पुगेको छ ।
कार्यालय स्रोतले महतो योजनाहरूमा कमिशन मिलाउने “सेटिंग” मा संलग्न रहेको आशंका व्यक्त गरेको छ । स्रोतको भनाइ अनुसार, सोही कारण पत्रकारहरूलाई सूचना नदिइएको हुनसक्छ, ताकि सो “सेटिंग” भत्किने डर टार्न सकियोस ।
तर, महतोले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेका छन । “म कुनै सेटिंगमा लागेको छैन । मन्त्रालयबाट आएको पत्र वडामा पठाएर उपभोक्ता समिति बनाएपछि मात्रै प्रक्रिया अगाडि बढाएको हुँ,” उनले स्पष्ट पारे ।
सूचना लुकाउने प्रवृत्तिबारे जिल्ला प्रशासन र सम्बन्धित निकायले ध्यान दिनुपर्ने सरोकारवालाहरूको माग रहेको छ ।

