पालिकाले एसईईमा उत्कृष्ट विद्यार्थीहरूलाई नगद १ लाख भन्दा बढी पुरस्कार दिने घोषणा

रोशन गुप्ता
बारा, ४ असार
छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रमअनुसार शैक्षिक सत्र २०८१ को एसईईमा ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई १ लाख ५१ हजार रुपैयाँ, ३.९९ देखि ३.९० जीपीए ल्याउनेलाई ५१ हजार र ३.८९ देखि ३.८० जीपीए हासिल गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिनेछ ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले यो योजना विद्यार्थीहरूलाई प्रोत्साहन गर्न र शैक्षिक प्रतिस्पर्धा बढाउन ल्याइएको बताए । उनले यसले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास पनि व्यक्त गरे ।


यसैगरी, गाउँपालिकाले ३.२ जीपीएभन्दा माथि हासिल गर्ने विद्यार्थीहरूलाई कक्षा ११ र १२ को लागि पूर्ण छात्रवृत्ति दिने कार्यक्रम पनि जारी राख्ने निर्णय गरेको छ । साथै, स्थानीय दिगाम आदर्श बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरूको मासिक शुल्क पनि गाउँपालिकाले बेहोर्नेछ ।


शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले छत्रकोटले श्रृङ्गा जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न पनि तयारी गरेको छ । गाउँपालिकाले यी पहलहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति निर्माणमा योगदान पुग्ने आशा व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *