पोखरिया नगरपालिकाको ४४ करोड ४० लाख बराबरको बजेट सर्वसम्मत रूपमा पारित

रोशन गुप्ता

बारा, ९ असार

पर्सा जिल्लाको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४४ करोड ४० लाख २७ हजार ४ सय ४८ को बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। सोमबार पोखरिया–४ स्थित प्राचीन पोखरेश्वर महादेव मन्दिरको सार्वजनिक धर्मशालामा आयोजित नवौं नगर सभाबाट बजेट पारित गरिएको हो।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न उक्त नगर सभामा नीति तथा कार्यक्रमसहितको बजेट नगर प्रमुख र उपप्रमुखले हस्तान्तरण गरेपछि प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले सभामा बजेट प्रस्तुत गरेका थिए।

बजेट अनुसार पोखरिया नगरपालिकाले संघीय सरकारबाट रु. १० करोड ५९ लाख वित्तीय समानीकरण अनुदान, रु. २० करोड २१ लाख सशर्त चालु अनुदान, रु. ५० लाख समपूरक अनुदान, रु. १ करोड १३ लाख विशेष अनुदान तथा रु. ९ करोड २८ लाख २७ हजार ४ सय ४८ राजस्व बाँडफाँड मार्फत प्राप्त गर्ने अनुमान गरिएको छ।

कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरेर गरिएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानु, महेन्द्र महतो चाई, सिमानन्द प्रसाद चौहान, प्रमानन्द प्रसाद पटेल, किसोरी साह तेली, नौसाद आलम, सोनालाल साह गोढलगायतका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरू, रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मी, नेकपा एमाले नगर अध्यक्ष विन्ध्याचल ठाकुर, राजु साह, मिताराम प्रसाद पटेल, गोवर्धन प्रसाद यादव सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सोही अवसरमा नगरपालिका अन्तर्गतका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कनको आधारमा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको सहजीकरण शिव पटेल र भगवान प्रसाद साह कानुनले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *