जीतपुरसिमरा उपमहानगरपालिकामा अनुमति भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने बोर्डिङलाई कारबाहीको चेतावनी

रोशन गुप्ता

बारा, १२ असार

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका केही संस्थागत (बोर्डिङ) विद्यालयहरूले स्वीकृत कक्षाभन्दा माथिल्लो कक्षा सञ्चालन गर्दै विद्यार्थी भर्ना गरेको पाइएको छ। उपमहानगरपालिकाले यस विषयमा छानबिन अघि बढाउँदै कारबाहीको प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ।

२०८१ चैत २८ गते सार्वजनिक सूचना प्रकाशित गर्दै नगरपालिकाले सबै विद्यालयलाई तोकिएको कक्षा सीमाभित्र मात्र भर्ना र पठनपाठन गर्न निर्देशन दिएको थियो। तर, केही विद्यालयहरूले अनुमति बिना नै उच्च कक्षा सञ्चालन गरी IEMIS प्रणालीमा समेत विवरण प्रविष्ट गरेका छन्, जुन कार्य अवैधानिक भएको मेयर राजन पौडेलले स्पष्ट गरेका छन्।

मेयर पौडेलले सामाजिक सञ्जालमार्फत अभिभावकहरूलाई सावधानी अपनाउन आग्रह गर्दै भनेका छन्, “कानुनविपरीत कक्षा सञ्चालन गर्ने विद्यालयहरूलाई नियमानुसार कारबाही गरिनेछ।”

 

उपमहानगरपालिकाको अपिल:

  • अभिभावकहरूले भर्ना गर्नु अघि विद्यालयको कक्षा अनुमति स्थिति अनिवार्यरूपमा जाँच गर्नुहोस्।

  • स्वीकृत अनुमति बिना विद्यार्थी भर्ना भएको पाइएमा, ती विद्यार्थीलाई अन्य वैधानिक विद्यालयमा स्थानान्तरण गर्न अनुरोध गरिन्छ।

  • उपमहानगरपालिकाले विद्यालयहरूका लागि स्वीकृत कक्षा सूची सार्वजनिक गरिसकेको हुँदा अभिभावकहरू सचेत बन्न अपिल गरिएको छ।

बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्नका लागि सबै पक्षले निर्धारित मापदण्ड पालना गर्न जरुरी रहेको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *