सडक अतिक्रमण, फुटपाथमा अवैध टहरा–पसल, नालामा जथाभावी ढलान, र अव्यवस्थित क्रसिङका कारण दैनिक समस्या बढेपछि उपमहानगरपालिकाले सडक डिभिजन कार्यालय, हेटौंडासँग तुरुन्तै कारबाहीका लागि औपचारिक पत्राचार गरेको हो।
नगरपालिकाका अनुसार यात्रु तथा पैदलयात्रीबाट लगातार गुनासो आइरहेका छन्। विशेषगरी विद्यालय जाने बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूका लागि सडक पार गर्ने जोखिम बढ्दै गएको छ। कमजोर सडक संरचना र अव्यवस्थित क्रसिङका कारण दुर्घटना बढेको तथ्य स्थानीय तहमा पटक–पटक उठ्दै आएको छ।
विगतमा सचेतनामूलक अभियान र सम्बन्धित निकायसँगको सहकार्य भए पनि समस्या समाधान नहुँदा अब कडाइका साथ कदम चालिने नगरपालिकाले जनाएको छ। नालामा ढलान गर्दा वर्षायाममा पानी जम्ने, सडकमा बग्ने र दुर्घटना बढ्ने हुँदा तत्काल सुधार आवश्यक रहेको नगरको भनाइ छ।
नगर प्रमुख राजन पौडेलले सडक डिभिजन कार्यालयलाई अवैध अतिक्रमण हटाउने, अव्यवस्थित क्रसिङ व्यवस्थित गर्ने, नालामा गरिएको ढलान भत्काएर सफाइ गर्ने तथा बिग्रिएका सडक खण्ड तुरुन्तै मर्मत गर्न निर्देशनात्मक अनुरोध गरेका छन्।