प्रज्ञा परिसरमा टाँसिएका आकर्षक होर्डिङबोर्डसँगै फोटो खिच्नेमध्ये कमी थिएन। भित्तामा टाँसिएको बोर्डमा ‘उज्यालो नेपाल पार्टी’ लेखिएको थियो, जसको तल ‘सुशासन, समृद्धि र सामाजिक न्याय’ भन्ने नारा उल्लेख गरिएको थियो।
कार्यक्रम स्थल रंगिन र उत्साहपूर्ण थियो। हरियो झण्डा र क्याप लगाएका सहभागीहरूले स्थल भरिभराउ देखिन्थे। ‘उज्यालो नेपाल के भन्छ ? कुलमान घिसिङले भन्छ’ भन्ने नाराले वातावरण झन् तातिएको थियो। हालसम्म पार्टीमा औपचारिक प्रवेश नगरेका कुलमान घिसिङ समर्थकहरू भने ‘पुरानाले गरेनन्, अब नयाँलाई साथ दिने’ भन्दै एकमुख भएका थिए।
मुख्य अतिथि कुलमान घिसिङ कार्यक्रम सुरु हुनासाथ आएका थिएनन्, तर कार्यकर्ताहरूले उनलाई केन्द्रमा राखेर नारा लगाउन थालिसकेका थिए। क्याप बाँड्ने, घोषणापत्र वितरण गर्ने र ‘उज्यालो नेपाल’ भन्दा बढी ‘कुलमान घिसिङ’ को नाम गुन्जिरहने अवस्थाले कार्यक्रमलाई उर्जा दिएको थियो।
रामेछापकी शशिकला दोङ लामा, जो काभ्रेबाट सहभागी भएकी थिइन्, माइती गाउँका ‘दाइ’ कुलमानलाई साथ दिन आएको बताइन्। उनले भनिन्, “कुलमान दाइले राम्रो काम गर्दै आएको छ। उहाँले नेतृत्व गरे देश बन्ने आशा छ।” त्यस्तै, गंगा श्रेष्ठले पुराना दलप्रति आक्रोश व्यक्त गर्दै अब कांग्रेस छाडेर ‘माइती दाइको पार्टी’ उज्यालो नेपाललाई साथ दिने बताइन्।
सिन्धुलीका फत योञ्जनले भने कुलमान घिसिङले विद्युत् क्षेत्रमा गरेको कामप्रति विश्वास व्यक्त गर्दै अब देशका अन्य अँध्यारा समस्यामा पनि उनी नेतृत्वशाली हुने आशा व्यक्त गरे।
देशका विभिन्न स्थानबाट बस रिजर्भ गरी सहभागीहरू आएका थिए। गोकर्णबाट मात्र दुई बस मानिस कार्यक्रमस्थल पुगेका थिए।
घोषणा सभा एक बजेदेखि सुरु हुने भनिए पनि केही ढिलो सुरु भयो। ढिलो आइपुगेका कुलमानलाई कार्यकर्ताहरूले घेराबन्दी गरेर हलसम्म पुर्याए। सभाहलको बाहिर पनि प्रोजेक्टरमार्फत कार्यक्रम हेर्न मानिसहरू उभिएका थिए।
हलको दुवै तला भरिएका थिए र सुरुदेखि नै ताली, हुटिङ र नारा घुञ्जिरहेका थिए। हलको चारैतिर उज्यालो नेपालका ब्यानर टाँसिएका थिए। उद्घोषकको अपिलपछि सभामा केही शान्त वातावरण कायम गरि अध्यक्ष अनुपकुमार उपाध्यायले पार्टीको औपचारिक घोषणा गरे।