बुधबार एमालेका सरोजकुमार यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।
पहिलो कार्यकालमा स्थिर मानिएको मधेश प्रदेश दोस्रो कार्यकालमा दलगत दाउपेच र बदलिँदो गठबन्धनका कारण लगातार सरकार ढलिरहेको छ।
२०७९ पुस २९ मा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री बने पनि २०८१ जेठ २३ मा विश्वासको मत गुमाए। त्यसपछि जनमतका सतिशकुमार सिंह जेठ २५ मा मुख्यमन्त्री बने तर असोज २८ मा पार्टीभित्रैको विवाद र समर्थन फिर्ताका आरोपसहित राजीनामा दिए।
उनपछि कांग्रेसका कृष्णप्रसाद यादव र लोसपाका जितेन्द्रप्रसाद सोनलबीच दाबी परे। जनमतको आधिकारिक समर्थन सोनलतर्फ गएपछि पाँच दलको साथमा उनी असोज २९ मा मुख्यमन्त्री बने, तर २५ दिनमै विश्वासको मत नपाउने भएपछि उनी पनि बाहिरिए।
यहीबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मध्यरातमै होटलमा एमालेका सरोजकुमार यादवलाई पुनः मुख्यमन्त्री बनाइन्, जसले व्यापक आलोचना निम्त्यायो। मन्त्रीपरिषद्ले उनको बर्खास्ती सिफारिस गर्यो र ७४ सांसद सर्वोच्च पुगे। सर्वोच्चले दीर्घकालीन निर्णय नगर्न आदेश दिँदै यादवलाई २४ घन्टामा विश्वासको मत लिन परमादेश दियो। विश्वासको मत सुनिश्चित नभएपछि उनले मंसिर १७ मा राजीनामा गरे।
पहिलो कार्यकालमा पाँच वर्ष स्थिर रहन सफल मधेश प्रदेश अहिले तीन वर्षमै पाँचौँ मुख्यमन्त्री खोज्न बाध्य भएको छ।
अन्य प्रदेशहरू पनि राजनीतिक अस्थिरताबाट उस्तै प्रभावित छन् । कोशीमा पाँच, बागमतीमा तीन, गण्डकी–लुम्बिनी–सुदूरपश्चिममा चार–चार र कर्णालीमा दुईपटक मुख्यमन्त्री फेरिएका छन्।

