संसदीय राजनीतिबाट संन्यास घोषणा गर्दै डा. सिके राउतले ‘सङ्घर्षको राजनीति’ जारी राख्ने

SLF KHABAR
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्।

उनले पद र चुनावी राजनीतिबाट टाढा रहने तर जनताको अधिकारका लागि ‘सङ्घर्षको राजनीति’ निरन्तर जारी राख्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले आफू संसदीय अर्थात् पदको राजनीतिबाट टाढा रहने स्पष्ट पारेका छन्। तर त्यसको अर्थ राजनीतिबाट पूर्ण रूपमा अलग हुने नभएको उनले बताएका छन्। उनले लेखेका छन्, “म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु—म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु। तर यसको मतलब राजनीतिबाट गायब हुनु होइन। राजनीतिमा सक्रिय रहँदै आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै जनताको लागि सङ्घर्ष गरिरहनेछु।”

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट उदाएको जनमत पार्टी त्यसबेला राष्ट्रिय स्तरमा स्थापित भएको थियो। सो निर्वाचनमा अध्यक्ष राउतले सप्तरी–२ बाट प्रत्यक्ष निर्वाचन जितेका थिए भने समानुपातिकतर्फ पनि थ्रेसहोल्ड पार गर्दै पार्टीले थप सांसदहरू पाएको थियो।

तर हालै २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा भने जनमत पार्टीले अपेक्षित सफलता हासिल गर्न सकेन। पार्टीले एक सिट पनि जित्न सकेन भने अध्यक्ष राउत स्वयं सप्तरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवसँग पराजित भए। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पार्टीले थ्रेसहोल्ड समेत पार गर्न सकेन।

निर्वाचन परिणामपछि राउतले संसदीय राजनीतिबाट टाढा रहने निर्णय लिएको बताएका छन्। उनले आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयार पार्न आफू प्रतिबद्ध रहेको जनाएका छन्। साथै, जनताको बीचमा निरन्तर रहने, विभिन्न आन्दोलन र सङ्घर्षमा सक्रिय रहने तथा अधिकार र पहिचानको लडाइँमा आफ्नो भूमिका जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राउतले जनमत पार्टीको अध्यक्ष बन्नु आफ्नो व्यक्तिगत इच्छा नभएको पनि उल्लेख गरेका छन्। सरकारद्वारा काम गर्न नदिइएको र जनतासँग प्रत्यक्ष सम्पर्कमा जान अवरोध सिर्जना भएपछि पार्टी गठन गर्नुपरेको उनको दाबी छ। उनले नरेन्द्र प्रसाद चौधरीसहितका नेताहरूलाई पार्टी नेतृत्व लिन पटक–पटक आग्रह गरे पनि उनीहरूले अस्वीकार गरेपछि आफू अध्यक्ष बन्नु परेको उल्लेख गरेका छन्। साथै, व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको पनि उनले बताएका छन्।

राउतको यस घोषणाले जनमत पार्टीको भावी रणनीति र मधेसको राजनीतिमा नयाँ मोड ल्याउने विश्लेषण गरिएको छ।

उनले अब पार्टी संगठनलाई मजबुत बनाउँदै जनसङ्घर्षलाई निरन्तरता दिनेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *