बाराको जीतपुरमा ६ लेन सडक अतिक्रमण हटाइने, शनिबारसम्म अन्तिम चेतावनी

SLF KHABAR
बाराको जीतपुर क्षेत्रमा ६ लेन सडक अतिक्रमण गरी सञ्चालन हुँदै आएको व्यापार हटाइने भएको छ।

जीतपुर क्षेत्रमा रहेको सडक तथा फुटपाथ खाली गर्न जीतपुरसिमरा उपमहानगरपालिका ले शनिबारसम्म सम्बन्धित सबैलाई अन्तिम चेतावनी दिएको छ।

नगरप्रमुख राजन पौडेल को अध्यक्षतामा बसेको नगरस्तरीय सर्वपक्षीय छलफलले अतिक्रमण हटाउने निर्णय गरेको हो। प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौला का अनुसार तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने आइतबार बिहान ८ बजेदेखि सडक डिभिजन कार्यालय हेटौंडा, उपमहानगरपालिका र प्रहरी प्रशासनको समन्वयमा सडक तथा फुटपाथ खाली गराइनेछ।

उपमहानगरपालिकाले स्वेच्छाले संरचना हटाउन आग्रह गर्दै अटेर गरे बल प्रयोग गरेर हटाइने र नियम उल्लंघन गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ। नगरप्रमुख पौडेलले अब अतिक्रमणविरुद्ध सम्झौता नगर्ने संकेत दिएका छन्।

यसअघि पनि वडा नं. ७ कार्यालय र उपमहानगरपालिकाले पटक–पटक सूचना जारी गरे पनि व्यवसायीले अटेरी गर्दै आएका थिए। हटाइएका संरचना पुनः निर्माण हुने क्रम रोकिएको थिएन। सडक अतिक्रमणका कारण दैनिक आवतजावतमा समस्या, ट्राफिक व्यवस्थापनमा अवरोध तथा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ।

फुटपाथमा व्यापार सञ्चालन भइरहेकै कारण केही महिनाअघि सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरूले सडक अवरुद्ध गरी आन्दोलनसमेत गरेका थिए। उपमहानगरपालिकाले साना तथा स्वरोजगार व्यवसायीलाई पूर्ण रूपमा विस्थापित नगर्ने नीति लिँदै वैकल्पिक व्यवस्थापनको तयारीसमेत अघि बढाएको जनाएको छ।

व्यवस्थित बजार क्षेत्र निर्माणमार्फत दीर्घकालीन समाधान खोजिने बताइएको छ, तर विगतका प्रयास सफल नभएकाले यसपटक निर्णय पूर्ण रूपमा कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा स्थानीय स्तरमा अझै चासो कायम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *