बीरगंजमा प्रयोगशाला स्थापन, बजार भन्दा ७५ प्रतिशत सस्तो

रोशन गुप्ता
बारा, २९ असोज
वीरगञ्ज महानगरपालिकाले आफ्ना बासिन्दालाई सुलभ दरमा स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ आफ्नै जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । आइतबार प्रयोगशालाको उद्घाटन गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सर्वसाधारणका लागि वरदान भएको बताए । उनले निजी स्वास्थ्य संस्थामा परीक्षणको उच्च लागतका कारण नागरिकको पीडालाई सम्बोधन गरेकोमा महानगरपालिकाको प्रशंसा गरे ।

बजार र निजी संस्थाभन्दा करिब ७५ प्रतिशत सस्तो दरमा स्वास्थ्य परीक्षण गराउने उद्देश्यले वीरगञ्ज–३ स्थित मालपोत कार्यालयको रुटमा रहेको सो प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रयोगशालामा ५४ प्रकारका स्वास्थ्य परीक्षण हुने अत्याधुनिक मेसिनका बारेमा प्रकाश पारेका थिए । उनले कालाजार, मलेरिया र एचआईभी परीक्षण निःशुल्क उपलब्ध गराइने र निकट भविष्यमा अन्य परीक्षणका लागि आवश्यक प्रविधि जडान गर्ने योजना रहेको पनि घोषणा गरे ।

महानगरपालिकाको रु ३३ लाखमा प्रयोगशालाको हल र मधेश प्रदेश सरकार तथा सामाजिक विकास मन्त्रालयले उक्त उपलब्ध गराएको उपकरणबाट स्थापना भएको प्रयोगशालाले नगरवासीका लागि स्वास्थ्य सेवा विस्तारका लागि महत्वपूर्ण कदम चालेको सङ्केत गरेको सिंहले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *