५१ लाखभन्दा बढीको कम्प्युटर समाग्री सहित एडी कम्प्युटर सप्लायर्सका संचालक प्रहरी फन्दामा

रोशन गुप्ता
जीतपुर, २९ असोज
पर्सामा प्रहरीले कम्प्युटर, ल्यापटपलगायत अवैध विद्युतीय उपकरणबरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–५ स्थित एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरमा छापा मारेको हो । यस अपरेसनको परिणामस्वरूप कम्प्युटर, ल्यापटप र विभिन्न अवैध इलेक्ट्रोनिक उपकरणहरू जफत गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बरामद सामानको बजार मूल्य रु ५१ लाख २६ हजार ७ सय रहेको छ ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अजय सिंहको चारतले घरमा खानतलासी गरेको थियो । अजय सिंहले गैरकानुनी रूपमा कम्प्युटर, ल्यापटप र इलेक्ट्रोनिक उपकरणहरू भण्डारण गरेको विषेश सूचनाका आधारमा यो कदम चालिएको थियो । खानतलासीका क्रममा सिंहको चारतले घरको भुइँतलामा भन्सार नतिरेका कम्प्युटर, ल्यापटप र इलेक्ट्रोनिक सामान राखिएको पाइएको थियो ।
प्रहरीले ७० थान डेल मिनी सीपीयू, ३० थान सिस्टम बिनाको डेल मिनी सीपीयू, ४१ खाली डेल सीपीयू केस, ६० डेल सीपीयू बक्स, ७६ डेल सीपीयू सेट, ८८ जेनिक्स हार्ड ड्राइभ, ४२ डेल मनिटर, ५५० कम्प्युटर, ३१२ मोनिटर केबल र १८,००० मिटर सीसीटीभी वायरिङ तार बरामद गरेको छ । यसका साथै २५ वटा मदरबोर्ड, ११ वटा ग्राफिक्स कार्ड, १९ वटा कूलिङ फ्यान, १३१ वटा ल्यापटप चार्जर, क्याट–६ केबलको रोल र एउटा इलेक्ट्रिक ड्रिल पनि बरामद गरिएको थापाले बताए ।
बरामद सामान थप आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *