बारा प्रहरीले रुपेशको हत्यामा संलग्न रहेकामध्ये ५ जना सार्वजनिक

आर के गुप्ता
बारा, १५ कार्तिक
बाराको कलैया उपमहानगरपालिका–६ मदरसा स्थित एक बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनाको पहिचान खुलाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा बुधबार पत्रकार सम्मेलन गरी हत्याका मुख्य योजनाकारसहित पाँच जनाको सनाखत भएको हो ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२ का राधा गुप्ता, जबर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनवकुमार सिंह रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्व विद्यालय लेखापाल राधाको स्वर्णकारसँग प्रेम सम्बन्ध रहेको अनुमान गरिएको छ । घटनाका मुख्य योजनाकार मनोज गुप्ता अझै फरार रहेको अधिकारीहरुले बताएका छन ।
प्रहरीका अनुसार हत्याको मुख्य कारण प्रेम सम्बन्ध थियो । साथै स्वर्णकारलाई गोली हान्ने व्यक्ति प्रोफेसनल सुटर भएको प्रहरीले बताएको छ ।
उनले भने, यस घटनामा आठ जनाको प्रत्यक्ष संलग्नता रहेको छ । तीमध्ये पाँच जना अहिले हिरासतमा रहेको र बाँकीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
टाउको र छातीमा लागेको गोली लागेर ज्यान गुमाएका प्रधानाध्यापक स्वर्णकारमाथि सोमबार दुई मोटरसाइकलमा आएका चार जनाले गोली चलाएका थिए । उपचारको क्रममा वीरगञ्ज स्थित बयोधा अस्पतालमा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *