आर के गुप्ता
बारा, १६ कार्तिक
नेपालले हालै विश्व बैंकबाट १३ अर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्त गर्ने सम्झौता गरेको छ । नेपाल र विश्व बैंकबीच भएको पहिलो डिजिटल सम्झौताको रुपमा यो ऐतिहासिक कोसेढुङ्गा सावित भएको छ ।
यस सहुलियतपूर्ण ऋण सम्झौताअन्तर्गत नेपालले १० करोड अमेरिकी डलर १३ अर्ब २६ करोड रुपैयाँ बराबर प्राप्त गर्नेछ । यो रकमले नेपालको स्वास्थ्य सेवालाई सुदृढ तुल्याउन, स्वास्थ्य बीमामा पहुँच विस्तार गर्न र आपतकालीन स्वास्थ्य सेवालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय स्तरको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशसँगको सहकार्यमा कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्नेछ ।
एक संयुक्त वक्तव्यले मानव पूँजी विकासको आधारभूत चालकको रूपमा गुणस्तरीय स्वास्थ्य सेवाको महत्वलाई उजागर गरेको छ । यो सहयोगले उच्च स्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिइएको छ ।
अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सहुलियतपूर्ण ऋण र अनुदान दुवै मार्फत विश्व बैंकले गरेको पर्याप्त सहयोगका लागि आभार व्यक्त गरे । ऋणका अतिरिक्त विश्व बैंकले ३८ लाख ४० हजार अमेरिकी डलर करिब ५० करोड ९३ लाख रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ । यो आर्थिक सहयोगले नेपालको स्वास्थ्य सेवा र विकासका पहलमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।