दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि

एजेन्सी , १६ असार

आइसिसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै सन् २००७ पछि पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको छ ।

 

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्काप्रहार गर्दै ५२ रन बनाए ।


एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन मात्र चाहिएको थियो । तर, १७ औं ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गराएर भारतका लागि नाटकीय पुनरागमन गरे । अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा डेभिड मिलरलाई हार्दिक पाण्ड्याको बलमा सूर्यकुमार यादवले बाउन्ड्रीमा आउट गरेपछि दक्षिण अफ्रिकाको जितको आशा चकनाचुर भयो ।


ओपनर रीजा हेन्ड्रिक्स र कप्तान एडेन मार्कराम समान ४–४ रनमा आउट हुँदा दक्षिण अफ्रिका१२–२ को स्थितिमा थियो । त्यसपछि क्विन्टन डि कक र ट्रिस्टन स्टब्सले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे । स्टब्सले २१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाए । उनी आउट हुँदा दक्षिण अफ्रिकाले ८.५ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको थियो । बलिङतर्फ भारतका जसप्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने हार्दिक पाण्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । बलिङतर्फ भारतका अर्शदीप सिंह र अक्षर पटेलले समान २–२ विकेट लिए ।

यसअघि बार्बाडोसमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । ओपनर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन को पारी खेल्दै ४८ बलमा अर्धशतक पूरा गरे । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्काप्रहार गर्दै ४७ रनजोडे । कोहली र पटेलले चौथो विकेटका लागि ५४ बलमा ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । रोहित शर्माले ९, ऋषभ पन्तले शून्य, सूर्यकुमार यादवले ३, शिवम दुबेले १६ बलमा ३ चौका र १ छक्कासहित २७ तथा रविन्द्र जडेजाले २ रन को योगदान दिए । हार्दिक पाण्ड्या ५ रनमा अविजित रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले तीन ओभरमा २३ रन खर्चेर दुई विकेट लिए भने एनरिच नोर्ट्जेले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । कागिसो रबाडा र मार्को जेनसेनले समान १–१ विकेट लिए ।

सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले तथा भारतले इंग्ल्यान्डलाई ६८ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *