जीतपुरसिमराले शिक्षक र कर्मचारीको तलब सिधै व्यक्तिगत बैंक खातामा, यस्तो छ कारण

रोशन गुप्ता  

जीतपुर, १० माघ

 

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो मातहतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तलब भुक्तानी प्रक्रियामा परिवर्तन गर्ने घोषणा गरेको छ । उपमहानगरले विद्यालयको खातामा एकमुष्ट रकम स्थानान्तरण गर्नुको साटो अब सम्बन्धित शिक्षक तथा कर्मचारीको व्यक्तिगत खातामा सोझै तलब पठाउने भएको छ ।

उपमहानगरपालिकाले बुधबार सामुदायिक विद्यालयलाई पत्र लेख्दै शिक्षक (स्थायी, राहत अनुदान, अस्थायी करार र बालविकास सहजकर्ता ) र कर्मचारी (लेखापाल र कार्यालय सहयोगीलगायत) का लागि आवश्यक सबै कागजात यही माघ २० गतेभित्र पेश गर्न अनुरोध गरेको छ । यी कागजातले उपमहानगरपालिकाले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको योगदान कट्टी गरी बाँकी तलब मासिक रुपमा व्यक्तिगत खातामा जम्मा गर्न सक्नेछ ।

यसअघि शिक्षक र कर्मचारीको तलब विद्यालयको खातामा जम्मा गरिन्थ्यो, जसले गर्दा भुक्तानी प्राप्त गर्न ढिलाइ लगायत धेरै समस्याहरू उत्पन्न भएका थिए। कतिपय विद्यालयका प्रधानाध्यापक र लेखापालले विद्यालयको खातामा जम्मा भएको तलब वितरणमा दुरुपयोग वा ढिलासुस्ती गरेको गुनासो आएको थियो । यो नयाँ प्रणालीले यी समस्याहरू समाधान गर्न र कर्मचारीहरूलाई समयमै भुक्तानी सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

यसबाहेक, विद्यालयहरूले अक्सर लेखापरीक्षकहरूलाई उच्च शुल्क तिर्ने चुनौतीको सामना गर्नुपथ्यो र अब यसको निवारण हुने भएको छ । यो प्रत्यक्ष स्थानान्तरण प्रणालीको साथ, विद्यालय प्रशासनले अब दोहोरो लेखापरीक्षणको व्यवस्थापन गर्नु पर्दैन, किनकि तलब भुक्तानी महालेखा परीक्षकको कार्यालयबाट अधिकारीहरूले लेखापरीक्षण गर्नेछन ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकूद शाखाका अधिकृत हरिशप्रसाद भट्टले तलब भुक्तानीमा ढिलासुस्ती भएको गुनासो लाई यो परिवर्तनले समाधान गर्ने बताए ।

उपमहानगरभित्रका ५९ सामुदायिक विद्यालयमा हाल ६१८ शिक्षक तथा कर्मचारी कार्यरत छन । उपमहानगरले विद्यालयले नियुक्तिपत्र, पदोन्नतिलगायत सबै कागजात उपलब्ध गराउन अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *