जीतपुरसिमराको ११ औं हिउँदे अधिवेशन सम्पन्न

रोशन गुप्ता
बारा, ९ चैत्र
जीतपुरसिमरा उपमहानगरपालिकाको ११औँ हिउँदे अधिवेशन शनिबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा सम्पन्न भएको छ, जहाँ आर्थिक वर्ष २०८१/८२ को संशोधित बजेट कार्यान्वयनको समीक्षासहित प्रस्तुत गरिएको छ ।

नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षतामा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरिएको थियो । चालू आवका लागि रु दुई अर्ब १० करोड बजेट विनियोजन भए पनि फागुन मसान्तसम्म कूल आम्दानी रु ९१ करोड ८३ लाख ४७ हजार मात्र रहेको छ । उपमहानगरपालिकाले चालू आवका लागि सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँड, अनुदान र सार्वजनिक योगदान गरी कूल रु २ अर्ब १० करोड बजेट विनियोजन गरी आन्तरिक स्रोतबाट रु ६६ करोड ५९ लाख ९० हजार विनियोजन गरेको थियो ।

आन्तरिक स्रोतबाट रु १० करोड ३७ लाख ४७ हजार, समानीकरण अनुदानबाट रु १९ करोड २३ लाख ७५ हजार, राजश्व बाँडफाँडबाट रु १४ करोड ४७ लाख ९३ हजार, सशर्त अनुदानबाट रु ४० करोड ४४ लाख ७९ हजार र सङ्घीय समपूरक अनुदानबाट रु ७ करोड ३० लाख आम्दानी भएको छ ।

हालसम्म विनियोजित बजेटको ४३.६२ प्रतिशत मात्र खर्च भएको छ । उपप्रमुख भोलाप्रसाद अधिकारीका अनुसार चालूतर्फ रु ४९ करोड ४४ लाख ५० हजार र पूँजीगततर्फ रु २६ करोड ५२ लाख ६७ हजार गरी रु ७५ करोड १७ लाख २० हजार खर्च भएको छ । नगरप्रमुख पौडेलले संशोधित बजेट प्रस्तुत गर्दै केही समायोजन गरिएको जानकारी दिए । वडास्तरीय बजेट रु १२ करोड १४ लाखबाट बढेर रु २७ करोड पुगेको छ ।

उपप्रमुख अधिकारीले प्रतिवडा न्यूनतम रु ५६ लाख २५ हजार निर्धारण गरी वडास्तरीय बजेटको सिलिङ बढाइएको जानकारी दिनुभयो । यो विनियोजन जनसंख्या ३० प्रतिशत, भूगोल २० प्रतिशत, भौतिक पूर्वाधार विकास २० प्रतिशत र राजस्व संकलन ३० प्रतिशत जस्ता कारकहरूमा आधारित थियो ।

नगरप्रमुख पौडेलले चालू खर्चलाई सीमित गर्दै पूँजीगत खर्च बढाएर विकासलाई प्राथमिकता दिने नगरपालिकाको रणनीतिमा जोड दिए । चालु तर्फ रु १ अर्ब १६ करोड र पूँजीगततर्फ रु ९४ करोड २५ लाख गरी रु दुई अर्ब १० करोड को संशोधित बजेटमा वडास्तरीय योजनामा केन्द्रित गरिएको छ । नगरपालिकाले वडाहरूमा सन्तुलित वितरण सुनिश्चित गर्नका लागि नगरस्तरीय योजनाहरूबाट रकम पनि स्थानान्तरण गरेको छ ।

उपप्रमुख अधिकारीले बजेट जनमुखी, पारदर्शी र प्रभावकारी हुने प्रतिबद्धता व्यक्त गर्दै नगरसभाका सदस्यलाई सक्रियताका साथ कार्यान्वयनमा सहभागी हुन आग्रह गर्नुभयो । नगरप्रमुख पौडेलले जितपुरसिमरा उपमहानगरपालिकाको विकासका लागि बजेट, योजना र कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले बजेट तत्काल कार्यान्वयन गर्न सभा सदस्यलाई आह्वान गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै सबै सहभागीलाई धन्यवाद दिए ।

प्रस्तुत गरिएको संशोधित बजेट, योजना र कार्यक्रमहरूले समयमै कार्यान्वयन र सहकार्यमा ध्यान केन्द्रित गर्दै शहरको समग्र विकासलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *