जीतपुरसिमराको नगर प्रमुखले आधारभूत परिक्षा केन्द्रहरुमा आफै खटिए

रोशन गुप्ता  

बारा, १२ चैत्र

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले मंगलबार आधारभूत तहको परीक्षा केन्द्रको निरीक्षण गरेका छन ।

भ्रमणका क्रममा उनले उपमहानगरका विभिन्न परीक्षा केन्द्रको अनुगमन गर्नुका साथै हलबाहिरबाट परीक्षाको अवलोकन गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको आधारभूत तहको परीक्षामा यस वर्ष २ हजार २५१ परीक्षार्थी सहभागी हुँदैछन । उपमहानगरपालिकाका शिक्षा अधिकारी खुलप्रसाद (किरण) गौतमका अनुसार निजी र सामुदायिक विद्यालयलाई समेट्ने गरी ११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

वडा नं २४ को हरपुर, वडा नं ७ को जितपुर, वडा नं ५ को बकुलिया, वडा नं २ को सिमरा, वडा नं २१ को अमलेखगन्ज, वडा नं ४ को औराहा, वडा नं १५ को डुमराना, वडा नं १६ को डकाहा, वडा नं १७ को जैतापुर, वडा नं १९ को इनर्वासिरा र वडा नं १६ को टाँगियाबस्ती लगायत वडामा परीक्षा केन्द्र तोकिएको छ ।

टाँगियाबस्तीमा रहेको माध्यमिक विद्यालयका लागि होम सेन्टर तोकिए पनि अन्य क्षेत्रका विद्यार्थीले भने विभिन्न केन्द्रमा परीक्षा दिइरहेका छन । परीक्षा समितिले टाँगियाबस्तीको चुनौतीपूर्ण भौगोलिक संरचनाका कारण अन्य ठाउँमा जान समेत कठिनाइ हुने भएकाले विद्यार्थीका लागि होम सेन्टर राख्ने निर्णय गरेको शिक्षा अधिकारी गौतमले जानकारी दिए ।

परीक्षा समितिले जारी परीक्षासँगै उत्तरपुस्तिकाको पनि मूल्याङ्कन शुरु गरिसकेकाले चैतको अन्त्यसम्ममा नतिजा सार्वजनिक गर्ने उपमहानगरपालिकाको लक्ष्य छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *